जेम्स वेब टेलिस्कोपले पहिलोपटक डीप स्पेसबाट पठायो मौसमसम्बन्धी पूर्वानुमान

Technology Khabar १६ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

जेम्स वेब टेलिस्कोपले पहिलोपटक डीप स्पेसबाट मौसमसम्बन्धी जानकारी पठाएको छ। यो ताजा मौसम पूर्वानुमान डब्लिन, लन्डन वा न्युयोर्कबाट आएको होइन — यो सौर्यमण्डल बाहिरको गहिरो अन्तरिक्षबाट आएको हो, जहाँ सूर्यबिनाको एउटा एक्लो संसार तैरिँदै छ र पृथ्वीको उत्तरी प्रकाशभन्दा अझै गाढा अरोराले चम्किरहेको छ।

यो संसारलाई एसआईएमपी-०१३६ भनिन्छ। करिब २० करोड वर्ष पुरानो यो वस्तु मीन राशिमा पृथ्वीबाट करिब २० प्रकाश वर्ष टाढा अवस्थित छ। यो पूर्ण रूपमा ग्रह पनि होइन र पूर्ण रूपमा तारा पनि होइन। खगोलशास्त्रीहरूले यसलाई ‘ब्राउन ड्वार्फ’ अर्थात् प्रायः “असफल तारा” भनेर वर्गीकरण गरेका छन्। तारा जस्तै यसले पनि ग्यासको बादल खस्रिएर बनेको हो तर यसको केन्द्रमा हाइड्रोजन फ्युजन कायम गर्न पर्याप्त पिण्ड छैन।

स्पेस डटकमका अनुसार पृथ्वी जस्तो यसको आफ्नै सूर्य पनि छैन। यो ‘रोग वर्ल्ड’ हो, जुन कुनै कक्षामा नघुमी स्वतन्त्र रूपमा अन्तरिक्षमा तैरिन्छ र करिब दुई घण्टा ३० मिनेटमै एकपटक घुम्छ। अहिले जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) को सहयोगमा खगोलशास्त्रीहरूले यसको एक पूर्ण घुमाइभरि वायुमण्डलमा हुने सूक्ष्म परिवर्तनहरू ट्र्याक गर्दै हालसम्मकै सबैभन्दा विस्तृत “मौसम रिपोर्ट” सार्वजनिक गरेका छन्।

सेप्टेम्बर २६ मा एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स पत्रिकामा प्रकाशित अध्ययनले पहिलोपटक ब्राउन ड्वार्फको वायुमण्डल घुमाइसँगै कसरी परिवर्तन हुन्छ भनेर देखाएको छ। यसले तापक्रम, रासायनिक संरचना र बादलमा हुने उतारचढाव प्रष्ट पारेको छ। वैज्ञानिकहरूका अनुसार यसले हाम्रो सौर्यमण्डल बाहिरका संसारहरूको मौसम बुझ्न नयाँ ढोका खोलिदिएको छ।

“यसअघि कुनै पनि बाहिरी ग्रहमा वायुमण्डलको यति सटीक मापन गरिएको थिएन। पहिलोपटक वायुमण्डलीय गुणहरूमा प्रत्यक्ष परिवर्तन मापन गरिएको हो,” आयरल्यान्डको ट्रिनिटी कलेज डब्लिनका प्रमुख लेखक एभर्ट नासेडकिनले भने। “यस्ता मौसम प्रक्रियाहरू बुझ्नु भविष्यमा नयाँ संसारहरूको खोज र तिनको अध्ययनका लागि अत्यन्त महत्वपूर्ण हुनेछ,” सोही कलेजकी सहलेखक जोहाना भोसले भनिन्।

जेडब्लूएसटीका संवेदनशील उपकरणहरूले एसआईएमपी-०१३६ घुम्दा हुने सूक्ष्म चमकलाई ट्र्याक गरे, जसले वायुमण्डलीय तहहरूको नक्सा बनाउन सहयोग गर्‍यो। पहिले वैज्ञानिकहरूले बादल असमान भएको कारण चमक भएको अनुमान गरेका थिए। तर अध्ययनले देखायो कि तातो सिलिकेटका कणहरूबाट बनेका बादलहरू आश्चर्यजनक रूपमा स्थिर रहे।

वास्तविक नाटकीय परिवर्तन भने माथिल्लो वायुमण्डलमा देखियो, जहाँ अनुमानभन्दा करिब ३०० डिग्री सेल्सियस बढी तातो हावा भेटियो। अध्ययनअनुसार यो अतिरिक्त ताप अरोराका कारण भएको हो।

पृथ्वीमा अरोरा सूर्यबाट आउने आवेशित कणहरू पृथ्वीको चुम्बकीय क्षेत्रसँग ठोक्किँदा देखिन्छ। तर एसआईएमपी-०१३६ मा अझ बलियो चुम्बकीय क्षेत्र भएकाले आवेशित कणहरू वायुमण्डलमा यति शक्तिशाली रूपमा ठोक्किन्छन् कि केवल प्रकाश मात्र उत्सर्जन गर्दैनन्, ऊर्जासमेत वायुमण्डलमा भित्र्याउँछन् र माथिल्लो तहलाई तताउँछन्।

अध्ययनअनुसार जेडब्लूएसटीले गहिरो तहमा करिब ५ डिग्री सेल्सियसभन्दा कम तापक्रमको सूक्ष्म उतारचढाव पनि पत्ता लगाएको छ। वैज्ञानिकहरूले यी साना परिवर्तनहरू ग्रहणमा रहेका विशाल आँधी प्रणालीहरू, सम्भवतः बृहस्पतिमा देखिने ग्रेट रेड स्पट जस्तै आँधीका कारण हुनसक्ने बताएका छन्।

एसआईएमपी-०१३६ जस्ता ब्राउन ड्वार्फ ताराको तेजोमण्डलले ढाकिएको नहुने भएकाले टाढाका विशाल ग्रहहरूको अध्ययनका लागि उपयुक्त ‘प्रयोगशाला’ मानिन्छन्। यस्ता विस्तृत अध्ययनहरूले टाढाका संसारहरूको वायुमण्डल कस्तो व्यवहार गर्छ भन्ने थाहा पाउन वैज्ञानिकहरूलाई मद्दत गरिरहेको छ।

जेडब्लूएसटी लगायत भविष्यमा बन्ने एक्स्ट्रीमली लार्ज टेलिस्कोप र नासाको ह्याबिटेबल वर्ल्ड्स अब्जरभेटरीमार्फत वैज्ञानिकहरूले टाढाका ताराको वरिपरि घुम्ने संसारहरूमा पनि यस्तै प्रविधि प्रयोग गरेर मौसम कसरी परिवर्तन र विकास हुन्छ भन्ने बुझ्ने अपेक्षा राखेका छन्।

यी परिणामसम्बन्धी अध्ययन सेप्टेम्बर २६ मा एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्समा प्रकाशित भएको हो।

 

प्रकाशित: १६ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया