ठूला प्राविधिक कम्पनीहरूको एआईसम्बन्धी खर्च २०२९ सम्म २.८ ट्रिलियन डलर नाघ्ने आकलन

Technology Khabar १६ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

सिटीग्रुपले ठूला प्राविधिक कम्पनीहरूको एआईसम्बन्धी खर्च २०२९ सम्म २.८ ट्रिलियन डलर नाघ्ने अनुमान गरेको छ।

पहिले २.३ ट्रिलियन डलर हुने भनिएको अनुमानलाई बढाएर सिटीले यो प्रक्षेपण गरेको हो। यसको कारणका रूपमा हाइपरस्केलरहरूको आक्रामक प्रारम्भिक लगानी र उद्यम स्तरमा बढ्दो मागलाई देखाइएको छ।

रोयटर्सका अनुसार २०२२ को अन्त्यतिर च्याटजीपीटी सार्वजनिक भएपछि सुरु भएको एआई बूमले चिनियाँ कम्पनी डीपसिकको सस्तो मोडेल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क नीतिबारेको चिन्ताका बीच पनि ठूला पूँजीगत खर्च र डेटा सेन्टर विस्तारलाई निरन्तरता दिएको छ।

सिटीको मूल्यांकनअनुसार हाइपरस्केलरहरूको एआई पूँजीगत खर्च २०२६ को अन्त्यसम्म ४९० अर्ब डलर पुग्नेछ, जुन पहिले अनुमान गरिएको ४२० अर्ब डलरभन्दा बढी हो। माइक्रोसफ्ट, अमेजन र अल्फाबेटलगायतका हाइपरस्केलरहरूले एआईको तीव्र माग पूरा गर्न अवरोध बनेको क्षमता समस्यालाई हटाउनका लागि पहिल्यै अर्बौँ डलर खर्च गरिसकेका छन्।

सिटीका विश्लेषकहरूले हाइपरस्केलरहरूले यो थप खर्चलाई तेस्रो त्रैमासिक नतिजामा प्रतिबिम्बित गर्ने सम्भावना रहेको र “उद्यमहरूको माग देखिनुअघि नै तयारी गर्दै” मार्गदर्शन दिने अपेक्षा गरेका छन्। सिटीले विश्वव्यापी एआई कम्प्युट मागका लागि २०३० सम्म ५५ गिगावाट नयाँ ऊर्जा क्षमता आवश्यक पर्ने अनुमान गरेको छ, जसको खर्च २.८ ट्रिलियन डलर पुग्नेछ। यसमध्ये १.४ ट्रिलियन डलर अमेरिका मात्रै हुनेछ।

दलाल संस्थाले ठूला प्राविधिक कम्पनीहरूले अब नाफामात्रैमा निर्भर भएर एआई पूर्वाधारमा लगानी गर्न नसक्ने जनाएको छ। लागत अत्यन्तै महँगो छ—प्रत्येक १ गिगावाट कम्प्युट क्षमताका लागि करिब ५० अर्ब डलर।

कम्पनीहरूले यसलाई पुरा गर्न ऋण लिन थालेका छन्।
यो परिवर्तन पहिले नै उनीहरूको वित्तीय विवरणमा देखिन थालेको छ, खर्चले स्वतन्त्र नगद प्रवाहमा प्रभाव पारिरहेको छ। लगानीकर्ताले अब यस्तो स्तरको लगानी कसरी पूरा गर्ने भन्ने प्रश्न उठाउन थालेका छन्।

“उद्यमहरूले मूल्यको स्पष्ट प्रमाण उपलब्ध गराएका छन्,” सिटीले एली लिली, हिताची र वोल्टर्स क्लुवरजस्ता कम्पनीहरूले उदाहरण दिँदै उत्पादनमा एआई प्रयोग थालेको बताएको छ।

 

प्रकाशित: १६ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया