
काठमाडौं ।
एकातिर कृत्रिम बुद्धिमत्ताले “नोकरी हराउने वा मानव अस्तित्व नै समाप्त हुने” डर पैदा गरिरहेको छ भने अर्कोतिर यसले असाधारण तरिकाले जीवन बचाउन सक्ने सम्भावनासमेत देखाएको छ।
यस सन्दर्भमा माइक्रोसफ्टका बिल गेट्स र जुमका प्रमुख कार्यकारी अधिकारी एरिक युआनलगायत प्राविधिक क्षेत्रका ठूला व्यक्तिहरूले कृत्रिम बुद्धिमत्ताको प्रगतिले कार्यसप्ताह छोट्याउने र सम्भवतः हप्तामा तीन दिनमा सीमित हुने बताएका छन्।
त्यस्तै विज्ञान पनि दिन प्रतिदिन कृत्रिम बुद्धिमत्तासँग बढी जोडिँदै गएको छ। गुगल समर्थित प्रयोगशालाले विश्वका समस्याहरू समाधान गर्न एआई प्रयोग गरिरहेको छ। द टेलिग्राफ को दावीअनुसार एआई प्रयोग गरी मृत्युको सम्भावना, जीन सम्बन्धी रोगका संकेत र सही स्वास्थ्य निदान पत्ता लगाउने काम भइरहेको छ।
अब ओपनएआईका प्रमुख कार्यकारी अधिकारी साम आल्टम्यानले प्रमुख मृत्युकारक रोगमध्ये एकलाई निको पार्ने सम्भावनामा आफूहरु नजिकिएको बताएका छन्।
च्याटजीपीटीका निर्माता अल्टम्यानले आफ्नो ब्लगमा लेख्दै, “१० गिगावाट कम्प्युटिङ शक्तिसँग असाधारण कुरा सम्भव हुन्छ। सायद यसले क्यान्सरको उपचारको उपाय निकाल्न सक्छ वा पृथ्वीका प्रत्येक विद्यार्थीलाई व्यक्तिगत शिक्षण प्रदान गर्ने उपाय बनाउन सक्छ,” भनेका छन्।
उनीसँगै ओपनएआईले हप्तामा १ गिगावाट नयाँ एआई पूर्वाधार उत्पादन गर्ने कारखाना बनाउन लक्ष्य राखेको बताएका छन्, यद्यपि यसलाई वर्षौं लाग्ने सम्भावना छ।
शोधकर्ताहरू भने पहिले नै एआई प्रयोग गरी महत्वपूर्ण वैज्ञानिक प्रगतिहरू गरिरहेका छन्। गुगलको डीपमाइन्डको अल्फाफोल्ड उपकरणले खोप र औषधि अनुसन्धानलाई तीव्र बनाउन सहयोग गर्ने आशा राखेको छ।
तर विशेषज्ञहरूका अनुसार यद्यपि एआईले क्यान्सर पत्ता लगाउने क्षमतामा सुधार ल्याएको छ, रोग पूर्ण रूपमा निको पार्न अझै धेरै काम गर्न बाँकी छ। यसको कारण क्यान्सर एक मात्र रोग नभई सयौँ प्रकारका रोगहरूको समूह हो, जसको आफ्नै विशेषता हुन्छ।
अल्टम्यानका यी टिप्पणीहरू ओपनएआई र एनभिडियाबीच भविष्यको कृत्रिम बुद्धिमत्ता पूर्वाधार निर्माण गर्ने नयाँ साझेदारी घोषणा भएपछि आएका हुन्।
प्रकाशित: १३ आश्विन २०८२, सोमबार