Technology Khabar १३ आश्विन २०८२, सोमबार
काठमाडौं ।
अष्ट्रेलियाली टेलिकम कम्पनी अप्टसले सोमबार सिड्नीको दक्षिणी क्षेत्रमा आपतकालीन कल सेवा अवरुद्ध भएको जनाएको छ। यो घटना १० दिनअघि भएको व्यापक अवरोधपछि आएको हो, जसले ग्राहकहरूले समयमा सहायता नपाउँदा चार जनाको ज्यान गएको हुनसक्ने कम्पनीले जनाएको थियो।
देशको दोस्रो ठूलो टेलिकम अप्टसमा भइरहेको अवरोधबारे अष्ट्रेलियाली सरकारले स्पष्टीकरण मागिरहेको छ। अप्टस सिंगापुर टेलिकम्युनिकेसन्स (सिङटेल) को स्वामित्वमा रहेको छ।
सिङटेल समूहका प्रमुख कार्यकारी अधिकारी युन कुआन मुनले यसै साताभित्र अष्ट्रेलियाली सञ्चार मन्त्री एनिका वेल्ससँग भेट्ने कार्यक्रम रहेको मन्त्रीको कार्यालयले जनाएको छ। सिङटेलका अनुसार वेल्ससँगको भेटमा अप्टसका अध्यक्ष जोन आर्थर र प्रमुख कार्यकारी अधिकारी स्टिभन रु पनि सहभागी हुनेछन्।
“सिङटेलले यस विषयलाई गम्भीरतापूर्वक लिएको छ र अप्टससम्बन्धी समस्या समाधानका लागि अष्ट्रेलियाली सरकार र सम्बन्धित निकायहरूसँग पूर्ण सहयोग गर्नेछ,” प्रवक्ताले बताएका छन्।
रोयटर्सका अनुसार अप्टसले सोमबार दिएको जानकारीअनुसार सिड्नीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको ड्याप्टोमा खराब भएको मोबाइल टावर साइटका कारण आइतबार बिहान सेवा अवरुद्ध भएको थियो। यसले आपतकालीन कलसहितका सेवामा असर पुर्याई ४,५०० जनालाई प्रभावित गरेको थियो।
“अप्टसले कारणबारे अनुसन्धान जारी राखेको छ … समस्या समाधान भइसकेको छ,” कम्पनीका प्रवक्ताले इमेलमार्फत बताएका छन्। कम्पनीले प्रहरीले पुष्ट्याएको जानकारी उद्धृत गर्दै आपतकालीन सेवामा सम्पर्क गर्न खोजेका सबै व्यक्ति सुरक्षित रहेको जनाएको छ।
गत सेप्टेम्बर १८ मा भएको १३ घण्टे घातक अवरोध नेटवर्क फायरवाल अपग्रेडका कारण भएको थियो, जसले दुई राज्य र नर्दर्न टेरिटरीमा आपतकालीन कल सेवा अवरुद्ध गरेको थियो। यसले करिब ६०० ग्राहकलाई असर गरेको थियो, जसमा दुर्गम क्षेत्रमा रहेका र कल गर्न नसक्ने अवस्थाका मानिस पनि परेका थिए, र यसकै कारण चार जनाको ज्यान गएको बताइएको छ।
अष्ट्रेलियामा अवरोधबारे आक्रोश बढ्दै गएको छ। प्रधानमन्त्री एन्टोनी अल्बानिजले यसलाई “पूर्णरूपमा अस्वीकार्य” भनेका छन्।
रुले प्रारम्भिक परीक्षणका आधारमा पहिलो अवरोध मानवीय त्रुटिका कारण भएको हुनसक्ने र अवरोधका बेला आवश्यक प्रक्रिया पालना नभएको स्वीकार गरेका छन्। यसबारे स्वतन्त्र समीक्षा सुरु भएको छ र यो वर्षको अन्त्यसम्म पूरा हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १३ आश्विन २०८२, सोमबार