“फोर्जा होराइजन ६” भिडियो गेम सन् २०२६ मा रिलिज हुने पुष्टि

Technology Khabar १३ आश्विन २०८२, सोमबार

काठमाडौं ।

प्लेग्राउन्ड गेम्सले अर्को वर्ष “फोर्जा होराइजन” फ्रान्चाइजीको अर्को किस्ता अनावरण गर्नेछ र यस पटक यो कार्यक्रम जापानमा हुने भएको छ।

“फोर्जा होराइजन ६” को घोषणा एक्सबक्स टोकियो गेम शो प्रसारणको क्रममा हुने अपेक्षा गरिएको थियो तर आधिकारिक फोर्जा होराइजन इन्स्टाग्राम खाताले प्रचारात्मक भिडियो (ट्रेलर) मार्फत यो जानकारीको खुलासा गरेको रिपोर्ट गरिएको छ।

इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोको विवरणमा “होराइजन फेस्टिभल गोज टु जापान” भनेर उल्लेख गरिएको छ र जसले खेल सन् २०२६ मा रिलिज हुने पुष्टि गरेको जनाइएको छ।

उक्त प्रचारात्मक भिडियोले “फोर्जा होराइजन ६” एक्सबक्स गेम पासमा र “एक्सबक्स प्ले एनिह्वेयर” शीर्षकको रूपमा उपलब्ध हुनेछ भनेर पनि खुलासा गरेको बताइएको छ।

“फोर्जा होराइजन ६” सन् २०२६ मा रिलिज हुने पुष्टिले अब अगामी वर्ष एक्सबक्सको र विशेष गरी प्लेग्राउन्ड गेम्सको लागि अत्यन्तै व्यस्त अवधि हुने संकेत गरेको उल्लेख गरिएको छ।

एक्सबक्सका प्रमुख फिल स्पेन्सरले यस वर्षको सुरुमा अर्को फोर्जा सिरिज सन् २०२६ मा आउने खुलासा गरेका थिए। यस खेलको अतिरिक्त, “गियर्स अफ वारः ई–डे”, “ह्यालो सीई” रिमास्टर, साथै प्लेग्राउन्ड गेम्सबाट नै “फेबल” पनि रिलिज हुने अपेक्षा गरिएको छ।

“फोर्जा होराइजन ६” पीएस५ को लागि अघिल्लो संस्करण, “फोर्जा होराइजन ५” को लन्च भएको एक वर्ष पछि डेब्यू हुनेछ।

चार वर्ष पुरानो यो भिडियो गेम सोनीको प्लेस्टेशन स्टोरको शीर्षमा चढ्न सफल भएको र यस वर्षको लागि सबैभन्दा लोकप्रिय पीएस५ खेलहरू मध्ये एक बनेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया