Technology Khabar ११ आश्विन २०८२, शनिबार
काठमाडौं ।
मेटाले “भाइब्स” नामक नयाँ फिड सार्वजनिक गरेको छ, जसमा प्रयोगकर्ताले छोटो एआई–निर्मित भिडियो सिर्जना र साझेदारी गर्न सक्नेछन्। यो सुविधा मेटा एआई एप र मेटा.एआईमा उपलब्ध हुनेछ। यो फिडलाई टिकटक वा इन्स्टाग्राम रील्सजस्तै भनिएको छ, तर सबै भिडियो एआईले बनाएको हुनेछन्।
मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले इन्स्टाग्राममा एआई–निर्मित भिडियोहरूको श्रृंखला पोष्ट गर्दै “भाइब्स” को सुरुवातको घोषणा गरेका छन्। एउटा भिडियोमा धमिलो देखिने प्राणीहरू घनाभित्र हाम फाल्दै देखिन्छन् भने अर्कोमा बिरालोले पीठो मोल्दै गरेको देखिन्छ। तेस्रो भिडियोमा प्राचीन इजिप्टको एक महिलाले बाल्कनीमा उभिएर सेल्फी लिइरहेको देखिन्छ।
मेटाका अनुसार नयाँ फिडमा सिर्जनाकर्ता र प्रयोगकर्ताले बनाएका एआई–निर्मित भिडियोहरू देख्न सकिन्छ। समयसँगै एलगोरिदमले व्यक्तिगत रुचिअनुसार सामग्री देखाउन थाल्ने टेकक्रञ्चले जनाएको छ। प्रयोगकर्ताले आफैं नयाँ भिडियो बनाउन वा अरूको भिडियो रिमिक्स गर्न सक्छन्।
प्रकाशन गर्नु अघि नयाँ दृश्य थप्ने, संगीत राख्ने वा शैली परिवर्तन गर्ने सुविधा दिइएको छ। त्यसपछि भिडियो सिधै भाइब्स फिडमा पोस्ट गर्न, अन्यलाई डिएम गर्न वा इन्स्टाग्राम तथा फेसबुक स्टोरी र रील्समा क्रस–पोष्ट गर्न सकिन्छ।
मेटाका प्रमुख एआई अधिकारी एलेक्जेन्डर वाङले कम्पनीले प्रारम्भिक संस्करणका लागि मिडजर्नी र ब्ल्याक फरेस्ट ल्याब्ससँग सहकार्य गरेको बताए। मेटा आफ्नै एआई मोडल विकास गरिरहेको पनि उनले बताएका छन्।
जकरबर्गको घोषणापछि प्रयोगकर्ताका प्रतिक्रियाहरू नकारात्मक देखिएका छन्। सबैभन्दा माथि आएको प्रतिक्रियामा लेखिएको छ, “कसैलाई यो चाहिएको छैन।” अर्को लोकप्रिय प्रतिक्रियामा भनिएको छ, “एआई फोहोर आफ्नै एपमा हाल्दैछन्।” अर्कोमा भनिएको छ, “म सबैको तर्फबाट भन्छु: के…?”
एआई प्रविधिको वृद्धिसँगै सामाजिक सञ्जालहरूमा एआई–निर्मित सामग्रीको भीड बढ्दै गएको छ। युट्युब जस्ता प्लेटफर्मले यस समस्यालाई नियन्त्रण गर्ने तयारी गरिरहेका बेला मेटाले यस्तो कदम चाल्नु अझै चकित पार्ने खालको भएको छ। यसै वर्ष सुरुमा मेटाले फेसबुकमा “अमौलिक” सामग्री हटाउने र सिर्जनाकर्तालाई मौलिक कथनमा जोड दिन सुझाएको थियो।
यो नयाँ फिड सार्वजनिक भएको समयमा मेटाले एआई क्षेत्रमा ठूला लगानी गरिरहेको छ। प्रतिस्पर्धी ओपनएआई, एन्थ्रोपिक र गुगल डीपमाइण्डभन्दा पछि पर्न लागेको आशंकाबीच कम्पनीले जुन महिनामा एआई संरचनालाई पुनर्गठन गरी “मेटा सुपरइन्टेन्स ल्याब्स” स्थापना गरेको थियो। त्यसपछि कम्पनीले आफ्ना एआई समूहलाई आधारभूत मोडल, अनुसन्धान, उत्पादन एकीकरण र पूर्वाधारमा ध्यान दिने गरी चार भागमा विभाजन गरेको बताइएको छ।
प्रकाशित: ११ आश्विन २०८२, शनिबार