ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

Technology Khabar १० आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। सो अनुसार एपको नियन्त्रण उनको राजनीतिक र व्यवसायिक सहयोगीहरूले सम्हाल्नेछन्।

यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको चिनियाँ स्वामित्व २० प्रतिशतमा सीमित हुनेछ। चीनले भने शुक्रबार प्रतिक्रिया दिँदै यस विषयमा ‘खुला र निष्पक्ष’ व्यवहारको आह्वान दोहोर्‍याएको छ।

एक करोड ७० लाखभन्दा बढी अमेरिकी प्रयोगकर्तासहित टिकटक विश्वकै लोकप्रिय छोटो भिडियो प्लेटफर्ममध्ये एक हो। तर चिनियाँ मूल कम्पनी बाइटडान्सको स्वामित्वले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको छ, जसका कारण वासिङ्टनले अमेरिकी सञ्चालनको नियन्त्रण लिन दबाब दिएको हो।

ह्वाइट हाउसमा भएको हस्ताक्षर समारोहमा ट्रम्पले एपको अमेरिकी संस्करण ‘उच्च स्तरका लगानीकर्ताहरू’ अर्थात् उहाँका नजिकका सहयोगीहरूको समूहले सञ्चालन गर्ने बताए। उनका अनुसार एप राजनीतिक दृष्टिले कुनै पनि धारमा झुक्नेछैन।

लगानीकर्ताहरूमा ओरेकलका संस्थापक ल्यारी एलिसन, टेक उद्यमी माइकल डेल र मिडिया टाइकुन रुपर्ट मर्डोक सामेल छन्। साथै, सिल्भर लेक म्यानेजमेन्ट र सिलिकन भ्यालीको शक्तिशाली लगानी संस्था एन्ड्रिसन होरोविट्ज पनि सम्झौतामा छन्।

“यो विनिवेशले लाखौँ अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रयोग गर्न निरन्तर अनुमति दिनेछ, तर उनीहरूको डाटा राष्ट्रिय सुरक्षासँग सुरक्षित रहनेछ”, ट्रम्पले भने।

ट्रम्पले यसअघि कार्यकारी आदेशमार्फत समयसीमा विस्तार गर्दै सन् २०२५ डिसेम्बर १६ सम्मको समय दिएका थिए। बिहीबारको आदेशले फेरि जनवरी २३ सम्म एक सय २० दिनको थप समय उपलब्ध गराएको छ।

चीनको प्रतिक्रिया 

सम्झौतासम्बन्धी प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन संवादको उल्लेख गर्दै भने, “राष्ट्रपति सीले यसलाई अनुमति दिनुभएको छ। उहाँको समर्थन अत्यन्तै महत्त्वपूर्ण छ।”

राज्य सञ्चालित सिसिटिभीले सीले अमेरिकासँगको वार्ता बजार–आधारित र चिनियाँ कानूनसँग मेल खाने हुनुपर्ने धारणा व्यक्त गरेको जनाएको छ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि नियमित पत्रकार सम्मेलनमा भने, “हामी आशा गर्छौं कि अमेरिकाले चिनियाँ कम्पनीहरूप्रति खुला, निष्पक्ष र गैर–भेदभावपूर्ण व्यापार वातावरण सुनिश्चित गर्नेछ।”

टिकटकले भने अहिलेसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया