काभ्रेपलाञ्चोकमा राष्ट्रिय परिचयपत्रका लागि दुई महिनामा ६ हजार बढीको आवेदन

Technology Khabar १० आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा ६ हजारभन्दा बढीले आवेदन फारम भरेका छन्।

गत साउन र भदौ महिनामा ६ हजार ३५० जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ।

साउनदेखि नै यससम्बन्धी सेवाग्राहीको चाप बढ्न थालेपछि कार्यालयले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिई अलग्गै स्टेशन व्यवस्थापन गरी फोटो खिचाइरहेको छ। हाल कार्यालयमा तीन स्टेशनबाट नागरिकलाई सेवा प्रदान गरिरहेको हो।

केही स्थानीय तहले कार्यालयको समन्वयमा वडास्तरमा समेत नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन्। जिल्लामा समग्रमा उक्त सङ्ख्यामा राष्ट्रिय परिचयपत्रका लागि आवेदनसहित फोटो खिचाएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुई महिनाको अवधिमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएकामध्ये एक हजार ५५७ नागरिकले कार्ड लिइसकेका छन्।

यसैबीच कार्यालयबाट यस अवधिमा एक हजार ३८२ ले नयाँ नागरिकता लिएका छन् भने दुई हजार २१६ जनाले नागरिकताको प्रतिलिपि लिएका जनाइएको छ। दुई महिनाको अवधिमा तीन जनाले नागरिकता परित्याग गरे भने चार जनाको नागरिकता रद्द गरिएको छ। यही अवधिमा राहदानीका लागि दुई हजार ८२६ जनाले आवेदन दर्ता गरेकामध्ये दुई हजार ८७६ जनाले राहदानी प्राप्त गरेका छन्।

नाबालक परिचयपत्र ११२ जनाले लिएको कार्यालयको तथ्याङ्कले देखाएको छ। कार्यालयले राहदानी, सङ्घ संस्था दर्ता तथा नवीकरण तथा अन्य शीर्षकमा दुई महिनाको अवधिमा रु तीन करोड १६ लाख २६ हजार ३९७ आम्दानी गरेको जनाइएको छ।-रासस

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया