Technology Khabar १० आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
वैज्ञानिकहरूले उपग्रह तथ्यांकको दशक लामो अध्ययनमार्फत एन्टार्कटिकाको हिउँमुनि लुकेका ८५ वटा नयाँ ताल पत्ता लगाएका छन्। अनुसन्धानकर्ताहरूले ती ताललाई ‘सक्रिय’ रहेका बताएका छन् जसको अर्थ ती समय–समयमा भरिने र खाली हुने गर्छन् र तिनीहरुको महिनौँ वा वर्षौंदेखि आकार तथा स्वरूप परिवर्तन भइरहन्छ।
यस्तो गतिविधिले हिमनदीको स्थायित्व र तिनीहरूको चट्टानमाथिको गति प्रभावित गर्ने हुँदा विश्वव्यापी समुद्री सतहमाथि असर पर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ।
“हामीले यी तालहरू भरिने वा खाली हुने चक्रमा परिवर्तन हुने गरेको देख्दा निकै चासो लाग्यो,” ब्रिटेनको लिड्स विश्वविद्यालयकी प्रोफेसर एना हगले युरोपियन स्पेस एजेन्सी (ईएसए) मार्फत जारी विज्ञप्तिमा भनेकी छन्। “यसले देखाउँछ कि एन्टार्कटिकाको हिउँमुनिको जल प्रणाली पहिले अनुमान गरिएको भन्दा धेरै सक्रिय छ, त्यसैले भविष्यमा पनि यी तालहरूको निरन्तर निगरानी आवश्यक छ।”
यसअघि एन्टार्कटिकामा १४६ सक्रिय हिउँमुनिका तालहरू पत्ता लागेका थिए। यसपटकको नयाँ खोजपछि कुल सक्रिय तालको संख्या २३१ पुगेको छ। अनुसन्धान प्रमुख सैली विल्सनका अनुसार यसले वैज्ञानिकहरूलाई यी ताल कहिले र कसरी भरिन्छन् वा खाली हुन्छन् भन्ने बुझ्न थप मद्दत पुर्याएको छ।
लिड्स विश्वविद्यालयको इन्स्टिच्युट फर क्लाइमेट एण्ड एट्मस्फेरिक साइन्समा डक्टरेट अध्ययनरत विल्सन भन्छिन्, “हिउँमुनिका तालहरूको भरिने वा खाली हुने घटना देख्नु अत्यन्तै कठिन हुन्छ। हाम्रो अध्ययनअघि विश्वभर केवल ३६ वटा मात्र पूरा चक्र देखिएको थियो। यसपटक हामीले १२ वटा थप पूरा चक्र देख्यौं र कुल संख्या ४८ पुगेको छ।”
हिउँमुनिका तालहरू पृथ्वीभित्रको ताप वा चट्टानसँग हिउँ ठोक्किँदा उत्पन्न हुने तातोपनले बनेका पानीका पोखरी हुन्। यी तालहरू कहिलेकाहीँ खाली भएर पुनः भरिन्छन् जसले हिउँको पत्रलाई चिपचिपो बनाइदिन्छ र हिउँलाई समुदतर्फ छिटो सर्न सहयोग गर्छ।
लाइभसाइन्सका अनुसार अनुसन्धानका लागि वैज्ञानिकहरूले २०१० देखि २०२० सम्म युरोपियन स्पेस एजेन्सीको क्रायोसाट–२ उपग्रहले संकलन गरेको तथ्यांक विश्लेषण गरेका थिए।
यो उपग्रहले हिउँ, समुद्री हिउँ र हिमनदीको मोटाइमा हुने सानो–साना परिवर्तन नाप्न सक्छ। यसबाट हिउँमुनि रहेका तालहरू भरिने खाली हुने क्रममा सतह अलि उचालिने वा धसिने गरेको प्रमाण भेटिएको हो। साथै, अध्ययनले २५ वटा तालका समूह र ५ वटा नयाँ आपसमा जोडिएका तालहरूको नेटवर्क पनि देखाएको छ।
वैज्ञानिकहरूको भनाइमा यी नतिजाहरू महत्त्वपूर्ण छन् किनकि यसले हिउँको पत्रको गति बुझ्न मद्दत गर्छ, जसले विश्वव्यापी समुद्री सतहमा प्रभाव पार्छ। हाल प्रयोग भइरहेका कम्प्युटर मोडलमा हिउँमुनिको जल प्रणाली समावेश छैन। नयाँ तथ्यांकहरूले भविष्यका मोडललाई अझै भरपर्दो बनाउन सहयोग गर्ने छन्।
एन्टार्कटिकाका केही ताल स्थिर छन् जुन भरिने वा खाली हुने गर्दैनन्। उदाहरणका लागि ईस्ट एन्टार्कटिक हिउँको पत्रमुनि रहेको लेक भोस्टक, जसमा ग्रान्ड क्यान्योन भरिन सक्नेभन्दा बढी पानी छ। वैज्ञानिकहरूको भनाइमा यदि यो ताल कुनै बेला खाली भयो भने पूरै हिउँको पत्रमाथि असर पर्न सक्ने र समुद्री सतह बढ्न सक्नेछ।
“एन्टार्कटिकाको हिउँको पत्रमाथि प्रभाव पार्ने जटिल प्रक्रियाहरू, विशेषगरी हिउँमुनिको पानीको प्रवाहबारे हामीलाई जति धेरै जानकारी हुन्छ, भविष्यमा समुद्री सतह कति बढ्छ भन्ने प्रक्षेपण त्यति नै सटीक हुनेछ,” युरोपियन स्पेस एजेन्सीका मार्टिन वेयरिङले विज्ञप्तिमा निष्कर्ष दिएका छन्।
प्रकाशित: १० आश्विन २०८२, शुक्रबार