Technology Khabar ९ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
हिमाली जिल्ला मुगुमा मोबाइल नेटवर्क प्रभावकारी नहुँदा स्थानीयले सास्ती बेहोरिरहेका छन्। मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको १२, १३ र १४ नम्बर वडाका बस्तीका साथै मुगमकार्मारोङ गाउँपालिका र सोरु गाउँपालिकासँग जोडिएका विभिन्न बस्तीमा मोबाइल नेटवर्क नहुँदा स्थानीय उपभोक्ता सञ्चार सेवाबाट वञ्चित भएका छन्।
उनीहरूलाई मोबाइलबाट फोन सम्पर्क गर्नका लागि अग्लो डाँडा र रुखमा चढेर फोन गर्नुपर्ने बाध्यता छ। जिल्लाको उत्तरी चीन सिमानामा पर्ने मुगमकार्मारोङ गाउँपालिकाभित्र पर्ने छाइल, पापु, चिमाथ, पुवा, पुलु, ताखा, खारी, कार्ती, किम्री दोल्फु चितैलगायतका बस्तीमा नेपाल टेलिकमको सेटलाइट प्रविधि टावरले काम नगर्दा अहिले पनि दुःख कष्ट फेलेर अग्लो ठाउँमा जानुपर्ने बाध्यता रहेको चिमाथ गाउँका स्थानीय राजेन्द्र बुढाले बताए।
त्यसै गरी जिल्ला सदरमुकामनजिक रहेको छायानाथ रारा नगरपालिकाकै लुमगाउँ, बामगाउँ, लुम्सगाउँका बस्तीमा टावरले काम नगर्दा अहिले पनि दुःख कष्ट झेलेर अग्लो ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानीय प्रेमलाल ऐडीले गुनासो सुनाए।
नेपाल टेलिकमले जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा गुणस्तरीय टावर बनाउन नसक्दा स्थानीयले फोनको सास्ती खेप्नु परेको छ। ऐडीले सहरमा निःशुल्क इन्टरनेट सेवा प्रवाह भए पनि दुर्गमका जनताको सहजताका लागि गुणस्तरीय टावर निर्माणका लागि पहल गरिदिन आग्रह गरे।
यता सोरु गाउँपालिकामा स्थानीय सरकार बनेको वर्षौं बितिसक्दा पनि गाउँपालिकाले नागरिकको हितका लागि सम्बन्धित निकायसँग पहल गर्नलाई चासो नलिएको स्थानीय सन्तोष शाहीले गुनासो गरे। उनले मोबाइलमा कुरा गर्न अग्लो डाँडामा जानुपर्ने अवस्था अहिले पनि रहेको उल्लेख गरे।
यता नेपाल टेलिकम दूरसञ्चार शाखा कार्यालय मुगुका कर्मचारी सुनिल बैढाका अनुसार जिल्लाका विभिन्न ठाउँमा नेटवर्कले राम्रोसँग काम नगर्दा गुणस्तरीय सेवा प्रवाहका लागि टेलिकमको प्रदेश कार्यालय सुर्खेतलाई पत्राचार गरिएको छ। उनले पत्राचार गरेको एक महिना भएको तर अहिलेसम्म प्रदेश कार्यालयबाट कुनै पनि जानकारी नआएको जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: ९ आश्विन २०८२, बिहीबार