
काठमाडौं ।
नेपाल टेलिकमको नेटवर्क सेवामा आज बिहान समस्या आउँदा ग्राहकहरुले तनाब भोग्नुपरेको छ। बिहानदेखिनै नेपाल टेलिकमको सेवाहरुमा अवरोध उत्पन्न भएको देखिएको थियो।
टेलिकमले भने हाल उक्त समस्या समाधान गरिएको र सबै सेवाहरु सुचारु भएको जानकारी दिएको छ। कम्पनीकाअनुसार सर्भरमा समस्या देखिँदा सेवामा अवरोध आएको हो।
टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले भने, “बिहानैदेखि सर्भरमा समस्या देखिएको थियो। त्यसले नेटवर्क आउने जाने भईरहेको थियो। पुरै नेटवर्क डाउन भएको होईन्।”
उनकाअनुसार हाल उक्त समस्यालाई समाधान गरिएको छ भने कम्पनीका प्राविधिकहरुले सर्भरको लग हेर्ने कार्य गरिरहेका छन्।
“ठ्याक्कै किन यस्तो समस्या आयो भन्न लग हेरेपछि मात्र थाहा हुन्छ,” उनले भने।
तर टेलिकम स्रोतले भने बिलिङ्ग सफ्टवेयरको सर्भरमा समस्या आएको बताएको छ। स्रोतकाअनुसार सुन्धारामा रहेको बिलिङ्ग सिस्टममा समस्या देखिएको हो, जसले गर्दा सेवामा अवरोध भएको थियो।
प्रवक्ताकाअनुसार बिहान करिब ९ः३० बजेदेखि समस्या समाधान भईसकेको छ भने हाल बिना अवरोध सेवा चलिरहेका छन्।
प्रकाशित: ९ आश्विन २०८२, बिहीबार