Technology Khabar ९ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
नेपाल टेलिकमका सिम तथा रिचार्ज कार्ड खरिदकर्ता डिलरहरुले आजदेखि नेपाल टेलिकमको बागमती प्रादेशिक निर्देशनालय त्रिपुरेश्वरमा धर्ना दिने भएका छन्। उनीहरुले ११ बजे देखि देशभरका निर्देशनालयहरुमा धर्ना दिने कार्यक्रम रहेको जानकारी दिएका छन्।
डिलरहरुले हिजो बुधबार प्रादेशिक निर्देशनालय काठमाडौं, पोखरा, वीरगन्ज, भैरहवा, नेपालगञ्जबाट कुनै पनि कारोबार नगरिएको जानकारी दिएका छन्।
तर टेलिकम स्रोतले भने वीरगंजमा ६ मध्ये २ डिलरहरु, विराटनगरमा ४ मध्ये २ डिलरहरु, तथा पोखरामा ५ मध्ये २ ओटा डिलरले रिचार्ज उठाएका जानकारी दिएको छ।
“यहि तथ्याङ्क देखाएर चाडबाडको बेला ब्यापारमा हानी पुग्ने भनेर डिलरले भनेजस्तो गरी निर्णय गर्ने प्रयास हुनलागेको आशंका छ,” टेलिकम स्रोतले भन्यो।
डिलर व्यवसायीहरुले पटक पटक नेपाल टेलिकमसँग सबै डिलरहरु बसेर छलफल गर्दा समेत केवल प्रतिबद्धता मात्र पाउने र कार्यान्वयन नहुने समस्या रहेको गुनासो गरेका छन्।
डिलरहरुको सम्पूर्ण च्यानल पार्टनरलाई सम्बोधन नगरेको उनीहरुले आरोप लगाएका छन्। यसका साथै सिम कार्ड बिक्री गर्ने रिटेलर वा पीओएसलाई मात्र सम्बोधन गरेर बाँकी होलसेलरहरुलाई पुरै बाहिर राखिएकोमा आपत्ति जनाएका हुन्।
“होलसेलरले बजारमा गएर सिम कार्ड र रिचार्ज कार्ड टोल टोल वा पसल पसलमा पुर्याउने च्यानललाई पुरै बाइपास गरेको हुनाले साथै नमस्ते पेबाट भुक्तानी गर्दा होलसेलरहरुले गरेको मेहनत वापतको कमिसन रकम भुक्तानी हुन समस्या भएकाले उक्त विषयमा सम्बोधन होस्,” डिलर व्यवसायीहरुले भने।
उनीहरुले आज पनि टेलिकमको कुनैपनि कार्यालयबाट कार्ड नउठाउने जानकारी दिएका छन्।
यसैबीच, टेलिकम स्रोतले भने कम्पनीका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान र प्रमुख प्राविधिक अधिकृत (सीटीओ) एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक रीना डंगोलले सिमकार्ड र रिचार्ज कार्ड बिक्रेता डिलरहरुलाई गैरकानूनीरुपमा भुक्तानी गर्न दबाब दिएको बताएको छ।
प्रकाशित: ९ आश्विन २०८२, बिहीबार