Technology Khabar ९ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
वैज्ञानिकहरूले सन् २०३२ मा चन्द्रमामा ठोक्किन सक्ने भनिएको एउटा क्षुद्रग्रहलाई परमाणु अस्त्र प्रक्षेपण गर्ने सम्भावनाबारे विचार गरिरहेका छन्। तर यसलाई विकल्पका रूपमा अघि बढाउनुअघि अझ धेरै अनुसन्धान आवश्यक रहेको उनीहरूले बताएका छन्।
यो अध्ययन क्षुद्रग्रह ‘२०२४ वाईआर४’ को सम्बन्धमा हो जसलाई सन् २०२४ डिसेम्बरमा पहिलो पटक पत्ता लगाइएपछि चर्चामा ल्याइएको थियो। प्रारम्भिक अवलोकनका आधारमा वैज्ञानिकहरूले यसले सन् २०३२ मा पृथ्वीमा ठोक्किन सक्ने सम्भावना ३.१ प्रतिशतसम्म रहेको बताएका थिए।
५५ मिटर लामो यो क्षुद्रग्रहले एउटा सहर नै नष्ट गर्न सक्ने भएकाले यसको समाचारले धेरैको ध्यान आकर्षित गर्यो। तर थप अवलोकनपछि यसको पृथ्वीमा ठोक्किने सम्भावना निकै घटेर सन् २०२५ फेब्रुअरीमा ०.२८ प्रतिशत मात्र रहेको पत्ता लाग्यो।
यो समाचार पृथ्वीका लागि सकारात्मक भए पनि अद्यावधिक ट्र्याकिङले भने यसले चन्द्रमामा ठोक्किन सक्ने सम्भावना करिब ४ प्रतिशत रहेको देखाएको छ। त्यस्तो टक्करले पृथ्वी नजिकै असर पार्न सक्ने विज्ञहरूको भनाइ छ।
लाइभसाइन्सका अनुसार यदि २०२४ वाईआर४ जस्तो आकारको क्षुद्रग्रह चन्द्रमामा ठोक्किएमा सतहमाथिको धुलो र साना ढुंगाहरू उठेर अन्तरिक्षमा फैलिनेछ। यसले पृथ्वी वरिपरि रहेका कृत्रिम उपग्रह र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि ठूलो खतरा निम्त्याउनेछ।
अनियन्त्रित रूपमा क्षुद्रग्रहलाई मोड्ने प्रयास उल्टै पृथ्वी तर्फ फर्किने सम्भावना समेत रहेको चेतावनी अनुसन्धानकर्ताहरूले दिएका छन् । यसको ठ्याक्कै तौलबारे अनिश्चितता भएकाले नजिकिँदै गरेको अवस्थामै केही गर्न कठिन हुने उनीहरूको भनाइ छ।
नासा भने यसअघि अनुभव बटुलेको छ । सन् २०२२ मा डार्ट मिशनमार्फत एउटा सानो क्षुद्रग्रहको मार्ग परिवर्तन गरिएको थियो। तर नयाँ अध्ययनका लेखकहरूले २०२४ वाईआर४ लाई मोड्ने प्रयास भने ‘अव्यावहारिक’ हुने निष्कर्ष निकालेका छन्।
त्यसको विकल्पका रूपमा वैज्ञानिकहरूले क्षुद्रग्रहलाई टुक्र्याउने अवधारणा अगाडि सारेका छन्। डार्ट शैलीकै यान प्रयोग गरी ठोक्काएर टुक्रा–टुक्रा बनाउन सकिने सुझाव दिइएको छ। यदि त्यो असफल भयो भने नासाले परमाणु अस्त्रमार्फत क्षुद्रग्रह नजिकै विस्फोट गराउन सक्ने प्रस्ताव राखिएको छ।
यस्तो अवस्थामा पनि चन्द्रमामा कुनै असर नपर्ने सम्भावना ९६ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ। तर यसलाई भविष्यमा क्षुद्रग्रहविरुद्ध नयाँ प्रविधि विकास गर्ने अवसरका रूपमा लिनुपर्ने सुझाव वैज्ञानिकहरूले दिएका लाइभसाइन्सले उल्लेख गरेको छ।
प्रकाशित: ९ आश्विन २०८२, बिहीबार