डीजेआईले ओस्मो नानो मिनी एक्सन क्यामरा घोषणा गर्यो

Technology Khabar ९ आश्विन २०८२, बिहीबार

डीजेआईले ओस्मो नानो मिनी एक्सन क्यामरा घोषणा गर्यो

काठमाडौं ।

डीजेआईले नयाँ ओस्मो नानो एक्सन क्यामरा घोषणा गरेको छ। यो नानो अल्ट्रा–कम्प्याक्ट वेयरेबल क्यामरा जहाँसुकै माउन्ट गर्न डिजाइन गरिएको बताइएको छ।

ओस्मो नानोमा रहेको टु–पार्ट (दुई भागको) डिजाइनमा सानो मुख्य क्यामरा बडी र डिस्प्लेको साथमा अन्य इलेक्ट्रोनिक्स हाउस गर्ने (राख्ने) डिट्याचेबल (छुट्याउन मिल्ने) मल्टिफङ्गशनल भिजन डक समावेश छ। मुख्य क्यामराको तौल केवल ५२ ग्राम रहेको छ भने डकको तौल ७२ ग्राम छ। यो क्यामरा १० मिटरसम्म वाटरप्रूफ भए तापनि डक भने केवल आइपिएक्स४ मूल्याङ्कन गरिएको हुनाले पानीमुनि लान नसकिने उल्लेख गरिएको छ।

ओस्मो नानोमा ६८८०×५१६० को रिजोल्युसन र १३.५ स्टप्सको डायनामिक रेञ्ज भएको नयाँ १/१.३”–टाइप सीएमओएस सेन्सर रहेको छ। यसको फिल्ड अफ भ्यू १४३ डिग्री र मिनिमम् फोकस डिस्ट्यान्स (न्यूनतम फोकस दूरी) ३५ सेन्टिमिटर रहेको छ। क्यामराले स्ट्याण्डर्ड मोडमा ६०एफपीएस र स्लो–मोशन मोडमा १२०एफपीएस सम्म फोरके भिडियो रेकर्ड गर्न सक्छ। साथै पोस्टमा थप फ्लेक्सिबल (लचिलो) कलर ग्रेडिङको लागि भिडियोहरू १०–बिट र डी–लग एम मा रेकर्ड गर्न सकिने छ। साथै डीजेआईको रकस्टेडी ३.० वा होराइजनब्यालेन्सिङ इलेक्ट्रोनिक स्टेबलाइजेसन सुविधाहरू पनि प्राप्त गर्न सकिने बताइएको छ। यस बाहेक रिजोल्युसनमा ३५ मेगापिक्सेल सम्मका तस्बिरहरू पनि खिच्न सकिने जनाइएको छ।

मुख्य क्यामरा बडीमा बिल्ट–इन स्टोरेज र ब्याट्री रहेको छ। यसमा ६४जीबी वा १२८जीबी इन्टर्नल स्पेस प्राप्त गरिने बताइएको छ र डकले १टिबीसम्म माइक्रोएसडी विस्तारलाई समर्थन गर्दछ। क्यामरामा ५२० एमएएच ब्याट्री र डकमा १३०० एमएएच ब्याट्री पनि उपलब्ध हुने बताइएको छ। क्यामराले ९० मिनेटसम्म १०८०पी २४एफपीएस भिडियो रेकर्ड गर्न सक्छ भने डकमा जोडिएको र डिस्प्ले बन्द गरिएको अवस्थामा २०० मिनेटसम्म भिडियो रेकर्ड गर्न सक्ने उल्लेख गरिएको छ। क्यामरालाई डकमा जोडिएको बेला मात्र चार्ज गर्न सकिने छ र ८० प्रतिशत पुग्न लगभग २० मिनेट लाग्ने रिपोर्ट गरिएको छ।

डिस्प्लेको कुरा गर्दा, डकमा १.९६ इन्च, ३१४×५५६ रिजोल्युसन ओएलईडी टचस्क्रिन प्राप्त गरिने बताइएको छ जसको पिक ब्राइटनेस (अधिकतम चमक) ८०० निट्सको हुनेछ। क्यामरा जडान भएको अवस्थामा डिस्प्लेलाई निगरानीको लागि पनि प्रयोग गर्न सकिने छ र क्यामरा मोड्युल अलग गरिएको अवस्थामा वायरलेस रूपमा पनि प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
ओस्मो नानो एक कम्प्याक्ट क्यामरा भएको हुनाले यसलाई जहाँसुकै माउन्ट गर्न सकिने उल्लेख गरिएको छ। यसलाई टोपीको छेउमा अट्याच गर्नको लागि म्याग्नेटिक ह्याट क्लिप, घाँटीमा झुण्ड्याउन वा आफ्नो लुगामा अट्याच गर्नको लागि म्याग्नेटिक लेनयार्ड, टाउकोमा लगाउनको लागि म्याग्नेटिक हेडब्यान्ड र छातीमा लगाउनको लागि म्याग्नेटिक चेस्ट स्ट्र्याप प्राप्त गर्न सकिने बताइएको छ। त्यसैगरी कारको बाहिर वा भित्र क्यामरा अट्याच गर्नको लागि डुअल–डाइरेक्शन म्याग्नेटिक बल–जोइन्ट एडाप्टर माउन्ट, धेरैजसो अवस्थित एक्शन क्यामरा एक्सेसरिजहरूमा क्यामरा अट्याच गर्नको लागि डुअल–डाइरेक्शन फोल्डेबल एडाप्टर माउन्ट र एक प्रोटेक्टिभ केस पनि उपलब्ध हुने जनाइएको छ। डीजेआईले एनडी फिल्टर सेट र नानो ग्लास लेन्स कभर पनि प्रदान गर्ने रिपोर्ट गरिएको छ।

ओस्मो नानोको ६४जीबी मोडेलको मूल्य २७९ यूरो कायम गरिएको छ जसमा क्यामरा, ओस्मो नानो मल्टिफङ्गशनल भिजन डक, ओस्मो नानो म्याग्नेटिक ह्याट क्लिप, ओस्मो नानो म्याग्नेटिक लेनयार्ड, ओस्मो नानो प्रोटेक्टिभ केस, यूएसबी–सी देखि यूएसबी–सी पीडी केबल (यूएसबी ३.१) र ओस्मो नानो डुअल–डाइरेक्शन म्याग्नेटिक बल–जोइन्ट एडाप्टर माउन्ट समावेश छन्। उही किट भएको १२८जीबी मोडेलको मूल्य भने ३०९ यूरो कायम गरिएको छ। क्यामरा लन्च हुँदा अमेरिकामा भने उपलब्ध नहुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ९ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया