Technology Khabar ९ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
ह्वाट्सएपले म्यासेज ट्रान्सलेसन्स नामक नयाँ सुविधाको घोषणा गरेको छ। यस नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई च्याटमा टेक्स्ट म्यासेज (सन्देश) हरू अनुवाद गर्न अनुमति दिनेछ।
म्यासेज ट्रान्सलेसन्स सुविधा वान अन वान कन्भर्सेसन, ग्रूप च्याट र च्यानलहरूसँग काम गर्ने बताइएको छ। फरक भाषाका सन्देशलाई लङ्ग–प्रेस (लामो समयसम्म थिचेर) “ट्रान्सलेट” (अनुवाद गर्नुहोस्) मा ट्याप गरे पछि उक्त सन्देशलाई अनुवाद गर्न चाहेको भाषा छनौट गर्न सकिने छ। साथै यसलाई फ्यूचर ट्रान्सलेसन्स (भविष्यका अनुवादहरू) को लागि पनि डाउनलोड गर्न सकिने बताइएको छ।
यस बाहेक एन्ड्रोइड प्रयोगकर्ताहरूसँग सम्पूर्ण च्याट थ्रेडमा भविष्यमा आउने सन्देशहरूको लागि स्वचालित अनुवाद सक्षम गर्ने विकल्प पनि उपलब्ध हुने रिपोर्ट गरिएको छ।
सबै अनुवादहरू अन–डिभाइसमा नै हुन्छन् भनि व्हाट्सएपले दाबी गरेको छ र व्हाट्सएपले पनि तिनीहरूलाई देख्न नसक्ने उल्लेख गरिएको छ।
म्यासेज ट्रान्सलेसन्स सुविधा आईफोन र एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि चयन गरिएका भाषाहरूमा रोल आउट हुँदैछ भने यस सुविधामा अन्य भाषाहरू पनि थप गरिने उल्लेख गरिएको छ।
यस सुविधाले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि अंग्रेजी, स्पेनिश, हिन्दी, पोर्चुगिज, रूसी र अरबी भाषाहरूमा सन्देशहरू अनुवाद गर्नेछ। साथै आईफोन प्रयोगकर्ताहरूले १९ भन्दा बढी भाषाहरूमा सन्देशहरू अनुवाद गर्न सक्षम हुने रिपोर्ट गरिएको छ।
प्रकाशित: ९ आश्विन २०८२, बिहीबार