Technology Khabar ९ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले सन् २०२५ को ‘पुजियाङ नवप्रवर्तन मञ्च’को अवसरमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०२४ मा विज्ञान तथा प्रविधिका उपलब्धिहरूको रूपान्तरणमा उल्लेखनीय प्रगति भएको छ ।
प्रतिवेदनका अनुसार, सन् २०२४ मा चीनभरका चार हजार ५९ विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले आफ्ना वैज्ञानिक तथा प्रविधि सम्बन्धी उपलब्धिहरूलाई स्थानान्तरण, अनुमति प्रदान, लगानी, प्रविधि विकास, परामर्श तथा सेवाजस्ता ६ वटा माध्यममार्फत रूपान्तरण गरेका छन्।
ती रूपान्तरणसम्बन्धी सम्झौताहरूको कूल रकम २२६.९ अर्ब युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले बढी हो।
सम्झौताहरूको सङ्ख्या ६ लाख ६१ हजार पुगेको छ । सम्झौता संख्या र मूल्य दुवैमा देखिएको वृद्धि विज्ञान तथा प्रविधिका उपलब्धिहरू प्रभावकारी रूपमा प्रयोगमा आइरहेका छन् भन्ने सङ्केत गर्दछ।
प्रतिवेदनमा देशभरका विश्वविद्यालय तथा अनुसन्धान संस्थाका वैज्ञानिकहरू नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा निरन्तर सक्रिय रहेको भनिएको छ। सन् २०२४ मा ४१५ विश्वविद्यालय तथा संस्थाहरूले सय करोड युआनभन्दा माथिका प्रविधि रूपान्तरण सम्झौता गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतको वृद्धि हो।
साथै, सन् २०२४ को अन्त्यसम्म १८ हजार २४८ जना पूर्णकालिक कर्मचारी प्रविधि रूपान्तरणको कार्यमा समर्पित रहेको उल्लेख छ। यस्तै, एक हजारभन्दा बढी विश्वविद्यालय तथा संस्थाहरूले प्रविधि रूपान्तरण कार्यालयहरू स्थापना गरिसकेका छन्।
त्यसैगरी, एक हजार ३२९ विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूले उद्योगसँग सहकार्य गर्दै संयुक्त अनुसन्धान तथा विकास केन्द्र, प्रविधि रूपान्तरण कार्यालय तथा प्लेटफर्महरू स्थापना गरेका छन्, जसले वैज्ञानिक अनुसन्धान र औद्योगिक प्रयोगबीचको सहकार्यलाई थप मजबुत बनाएको छ ।-रासस/सिन्ह्वा
प्रकाशित: ९ आश्विन २०८२, बिहीबार