सिम र रिचार्ज कार्ड बिक्री गर्ने डिलरहरुसँग टेलिकमका निमित्त एमडी मास्केसहित निर्देशकहरुको मिलेमतो, नियम बाहिरबाट भुक्तानी दिन चर्को दबाब

Technology Khabar ८ आश्विन २०८२, बुधबार

सिम र रिचार्ज कार्ड बिक्री गर्ने डिलरहरुसँग टेलिकमका निमित्त एमडी मास्केसहित निर्देशकहरुको मिलेमतो, नियम बाहिरबाट भुक्तानी दिन चर्को दबाब
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान र सीटीओ एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक रीना डंगोलसहित नेपाल टेलिकमको केन्द्रीय कार्यालय।

काठमाडौं ।

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान र प्रमुख प्राविधिक अधिकृत (सीटीओ) एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक रीना डंगोलले सिमकार्ड र रिचार्ज कार्ड बिक्रेता डिलरहरुलाई गैरकानूनीरुपमा भुक्तानी गर्न दबाब दिएको खुलासा भएको छ।

पछिल्लो समय सिमकार्ड बिक्रीमा ठूलो मात्रामा ग्राहक ठगी भएको समाचार सार्वजनिक भएपछि टेलिकमले नमस्ते पे मार्फतसमेत सिम बिक्री गर्न सकिने सुबिधा ल्याएको थियो। यसैगरी डिलरहरुको भुक्तानी सहज गर्न र पारदर्शी बनाउनका लागि नमस्ते पे वालेटमार्फत भुक्तानी गर्ने व्यवस्थासमेत मिलाएको छ।

सम्बन्धित समाचार-

समाचार प्रभाव: नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँभन्दा बढी लिन लगायो रोक

तर ति दुबै विषयहरुमा आफू कार्यरत कम्पनी नेपाल टेलिकमका विरुद्धमा डिलरलाई उचालेर पुरानै प्रकृयामार्फत भुक्तानी गराउन उनीहरुले दबाब दिएका हुन्।

हाल निमित्त एमडीको रुपमा कार्यरत रहेकी मास्केले भुक्तानीका लागि वागमती प्रादेशिक निर्देशनालयलाई चर्को दबाब दिईरहेकी छन्।

निमित्त एमडी मास्के र सीटीओ डंगोलले कानूनी रुपमा भुक्तानीका लागि सहजीकरण गरेर डिलरहरुको अवैध मागलाई रोक्नुपर्नेमा उनीहरुलाईनै समर्थन गर्दै कार्यालय घेराउ गराएको समेत टेलिकम उच्च स्रोतले जानकारी दिएको छ।

डिलरहरुको समुहले नेपाल टेलिकमसँग गरेको करारलाई नमान्ने चेतावनी दिँदै हिजो मंगलबार नेपाल टेलिकम बागमती प्रदेश निर्देशनालय घेराउ गर्न पुगेका थिए। तर प्रादेशिक निर्देशनालयले प्रहरी गुहारेसँगै घेराउ कार्यक्रम छिन्नभिन्न भएको थियो।

यसअघि उनीहरुले केन्द्रीय कार्यालयमानै पुरानै प्रकृयामार्फत भुक्तानी हुनुपर्ने र आफू मातहतका रिटेलरहरुको भुक्तानी पनि आफैंलाई दिनुपर्ने मागसहित दबाब दिएका थिए।

टेलिकम स्रोतले भन्यो, “यसमा निमित्त एमडी मास्के, निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान र प्रमुख प्राविधिक अधिकृत एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक रीना डंगोल र प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छेको समेतको मिलेमतो रहेको देखिन्छ।”

यसैगरी निमित्त एमडी मास्केले बागमती प्रदेश निर्देशनालयका अधिकारीहरुलाई डिलरको भुक्तानी पहिलेकै जस्तो प्रकृयामा गर्न चर्को दबाब दिएकी छन्।

“एमडी ज्यूले पुरानै तरिकाले भुक्तानी गर्न भन्नुभएको थियो र पटक पटक डिलरको पक्षमा लागेर दबाब दिँदै आउनुभएको छ,” स्रोतले भन्यो।

यसैबीच एक व्यवसायीले समेत नेपाल टेलिकम नेतृत्व पुरानै तरिकाले भुक्तानी गर्न सकारात्मक रहेको बताए। “हामीलाई पुरानै तरिकाले भुक्तानी दिने एमडीले भन्नुभएको छ,” उनले भने।

बागमती प्रदेश निर्देशनालयले भुक्तानीका लागि नमस्ते पेको ‘बल्क पेमेन्ट सिस्टम’मार्फत गर्ने डिलरहरुलाई जानकारी गराएपनि निमित्त एमडीसहित डंगोल र मातन्छेले भने पुरानै तरिकाले भुक्तानी गराउन दबाब दिइरहेका हुन्। जुन ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रिचार्ज र सिम कार्डको बिक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी (तेस्रो संसोधन) कार्यबिधि २०७८’ को आधारमा गैरकानूनी हुनेछ।

“साथै, Payment Modality को सम्बन्धमा सोहि कार्यविधिको दफा ५४ (ग) मा “डिलरहरुलाई “Namaste Pay Wallet” वा चेक वा Interbank Payment System (IPS) मार्फत कम्तीमा मासिक रुपमा VAT Bill प्राप्त भए पश्चात ७ दिनभित्र सेवा शुल्क बापतको रकम भुक्तानी गरिनेछ” भन्ने व्यवस्था छ,” निर्देशनालयका निर्देशक इन्दल यादवले डिलरहरुलाई दिएको र टेक्नोलोजीखबरले पाएको पत्रमा उल्लेख गरेका छन्।

यस्तै, सम्झौता बमोजिम नमस्ते पे को सिस्टम तयार भइसकेको हुनाले यस निर्देशनलायलाई रिटेलर/पीओएसको भुक्तानी नमस्ते पे मार्फत सोझै दिनुपर्ने करारीय दायित्व रहेको समेत उल्लेख गरिएको छ। कम्पनीले सोहीअनुसार केहिको भुक्तानी समेत गरिरहेको जानकारी दिएको छ।

भविष्यमा नमस्ते पेमा आबद्ध हुने डिलरहरुका रिटेलर/पीओएसको हकमा सम्झौता बमोजिम सोहि रिटेलर/पीओएसको सिर्जित दायित्व भुक्तानी गर्न समेत यस निर्देशनालय सदैव कटिबद्ध रहेको पत्रमार्फत भनेको छ।

तर एमडीले भने आफैंले लागू गरेको र हस्ताक्षर गरेको ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रिचार्ज र सिम कार्डको बिक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी (तेस्रो संसोधन) कार्यबिधि २०७८’ को आधारमा भुक्तानी गराउनुको साटो डिलरहरुको पक्षमा बोल्दै आएको बताईएको छ। यसलाई प्रमुख प्राविधिक अधिकृत (सीटीओ) एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक रीना डंगोलले समेत समर्थन गरेकी हुन्।

स्मरण रहोस् डंगोलले तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेलसँगको मिलेर डिलरलाई दिने शुल्क बढाएर ११५ रुपैयाँ प्रति सिम पुर्याएकी थिईन्। जसमा करोडौं रुपैयाँको चलखेल भएको आशंका गरिएको छ।

“तत्कालिन समयमा पौडेलसँगको मिलेमतोमा सिम कार्डमा डिलर र रिटेलरहरुलाई दिने शुल्क बढाउँदा करोडौंको लेनदेन भएको थियो,” सो विषयमा जानकार टेलिकम स्रोतले भन्यो।

अझ उल्लेखनिय विषय भनेको निर्देशक डंगोल आफैं नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्ष छिन् जुन कम्पनीले नमस्ते पे वालेटको संचालन गर्दछ।

यस्तै अहिलेका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छेले समेत अनधिकृत भुक्तानीलाई रोक्नुपर्नेमा डिलरहरुको पक्षमा लागेर भुक्तानी गर्न दबाब दिएको बताईएको छ।

“यसलाई रोक्नुको साटो प्रमुख व्यावसायिक अधिकृतले समेत मिलेमतो गरेर भुक्तानी छिटो गर्न भनिरहेका छन्,” टेलिकम उच्च स्रोतले भन्यो।

नेपाल दूरसन्चार कम्पनी लिमिटेडको रिचार्ज र सिम कार्डको बिक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि, २०७८ को दफा ५४(क) र डिलरहरुसँग भएको सम्झौतामा सिमकार्ड बिक्रि गरे बापत डिलरलाई प्रति सिम कार्ड रु ३५।– (मु अ कर बाहेक) का दरले सेवा शुल्क र रिटेलर/पीओएसलाई प्रति सिम कार्ड रु ८०।- (कर सहित) का दरले कमिसन उपलब्ध गराइने उल्लेख छ।

सोही विषयलाई प्रादेशिक निर्देशनालयले समेत पत्रमार्फत डिलरहरुलाई स्मरण गराएको देखिन्छ।

पत्रमा लेखिएको छ, “मुलुकी देवानी संहिता ऐन, २०७४ को भाग ५ करार तथा अन्य दायित्व सम्बन्धी व्यवस्थाको परिच्छेद – १ ( दायित्व सम्बन्धी व्यवस्था) को दफा ४९४ बमोजिम डिलरलाई रु ३५। – ( मु अ कर बाहेक) र Retailer/POS लाई प्रति सिम कार्ड रु ८०।- ( कर सहित ) दिने दायित्व नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, काठमाडौको हो । साथै, Payment Modality को सम्बन्धमा सोहि कार्यविधिको दफा ५४ (ग) मा “डिलरहरुलाई “Namaste Pay Wallet” वा चेक वा Interbank Payment System (IPS) मार्फत कम्तीमा मासिक रुपमा VAT Bill प्राप्त भए पश्चात ७ दिनभित्र सेवा शुल्क बापतको रकम भुक्तानी गरिनेछ” भन्ने व्यवस्था छ। POS / Retailer हरुको हकमा सोहि कार्यविधिको दफा ५४ (घ) मा “ Retailer / POS को कमिसन Namaste Pay Wallet मार्फत ग्राहक विवरण रुजु भएको १(एक) हप्ता भित्र भुक्तानी गरिनेछ।”

यस्तै केहि रिटेलर/पीओएसहरु नमस्ते पे सिस्टममा आबद्ध भई सम्झौता बमोजिम भाद्र महिनाको भुक्तानी पाइसकेको समेत नेपाल टेलिकमले उल्लेख गरेको छ।

यसैबीच डिलरहरुले भने भुक्तानी नदिएको भन्दै सिम कार्ड र रिचार्ज कार्ड कम्पनीबाट खरिद गर्ने कार्य बन्द गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया