Technology Khabar ८ आश्विन २०८२, बुधबार
काठमाडौं ।
नेपाल टेलिकम बिलिङ्ग सिस्टमको ठेक्का खोल्ने कार्य हालका लागि स्थगित गरेको छ। कम्पनीले यसैसाता बिलिङ्ग सिस्टमको टेन्डरको सूचना जारी गर्ने तयारी गरिरहेकोमा हालका लागि उक्त कार्य रोकेको हो।
करिब ५ अर्बको ठेक्का प्रकृयाको सूचना आज जारी गर्ने तयारी भएकोमा बोलपत्र खोल्ने कार्यक्रम हालको विशेष परिस्थितिका कारण स्थगित गरिएको कम्पनीले भनेको हो।
नेपाल टेलिकमले भर्चुअलाइज्ड प्लेटफर्ममा कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) र ग्राहक समर्थन (सीएस) प्रणालीको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालन (Supply, Delivery, Installation and Commissioning of Convergent Real Time Billing and Customer Support (CRTB & CS) System in Virtualized Platform) को लागि टेन्डर आव्हान गरेको थियो।
उक्त टेन्डरमा प्राविधिक मूल्यांकनमा ह्वावे टेक्नोलोजीज मात्र योग्य भएको थियो भने आर्थिक प्रस्ताव खोलिने तयारी रहेको थियो।
“बोलपत्र खोल्ने कार्यक्रम हालको विशेष परिस्थितिका कारण स्थगित गरिएको छ। वित्तीय बोलपत्र खोल्ने नयाँ मिति, समय र स्थान आधिकारिक सूचना मार्फत सबै बोलपत्रदाताहरूलाई सूचित गरिनेछ।
हामी कुनै पनि असुविधाप्रति क्षमाप्रार्थी छौं र सबै बोलपत्रदाताहरूलाई हामीलाई सहयोग गर्न अनुरोध गर्दछौं,” सूचनामा भनिएको छ।
प्रकाशित: ८ आश्विन २०८२, बुधबार