Technology Khabar ८ आश्विन २०८२, बुधबार
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्ष यात्री उम्मेदवारहरूको नयाँ समूह प्रस्तुत गरेको छ जसमध्ये कतिपय मानिसहरु पहिलो पटक मंगल ग्रहमा पाइला टेक्दैछन्।
यो समूह नासाको इतिहासमा २४औँ अन्तरिक्ष यात्री वर्ग हो र २०२१ पछि आएको पहिलो नयाँ समूह हो। यसबारेको घोषणा सेप्टेम्बर २२ मा नासाको जोनसन स्पेस सेन्टरमा आयोजित कार्यक्रममा गरिएको हो।
हाल प्रस्तुत गरिएका पाँच पुरुष र पाँच महिला अन्तरिक्ष यात्री उम्मेदवारहरू ८ हजारभन्दा बढी आवेदनबाट छनोट भएका हुन्। आवेदन खुला भएको अवधि करिब एक महिना मात्र थियो।
“यो छनोट प्रक्रिया कठिन, प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण थियो, तर आज हामीसँग यहाँ भएका व्यक्तिहरू असाधारण मात्र नभई संयुक्त राज्य अमेरिका र हाम्रो ग्रहका लागि प्रेरणादायी हुनेछन्,” नासाका फ्लाइट अपरेसन निर्देशक नर्म नाइटले कार्यक्रममा भने।
स्पेस डटकमका अनुसार अब समूहले आफ्नो तालिम सुरु गर्न पर्खिरहेको छ। छिट्टै उनीहरू जोनसन स्पेस सेन्टरमा फर्किनेछन् र अन्तरिक्षयात्रा, स्पेसवाक, इन्जिनियरिङ लगायत अन्तरिक्षमा बाँच्न आवश्यक सीपहरू सिक्नेछन्।
करिब दुई वर्षपछि उनीहरू स्नातक हुनेछन्, त्यसैबेला नासाले आर्टेमिस–३ मिशनअन्तर्गत अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा उतार्ने लक्ष्य राखेको छ। यो नयाँ वर्ग आर्टेमिस–३ का लागि छनोट हुने छैन, तर कार्यक्रम निरन्तर रह्यो भने आर्टेमिस–३ ले मंगल यात्राको तयारीस्वरूप चन्द्र सतहमा स्थायी उपस्थितिको आधार तयार गर्नेछ।
यी अन्तरिक्ष यात्री उम्मेदवारमध्ये कतिपयले मंगल ग्रहको रातो सतहमा पहिलो मानव पाइला कोर्न सक्छन् भने अरूले कम उचाइको पृथ्वी कक्षामा व्यावसायिक अन्तरिक्ष स्टेशनमा बस्ने र काम गर्ने पहिलो नासा अन्तरिक्ष यात्री बन्न सक्छन्।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन सन् २०३० अन्त्यतिर वा २०३१ सुरुमा अवकाश लिने तयारीमा छ। त्यसपछि पनि नासाले कक्षामा अनुसन्धान सञ्चालन जारी राख्ने योजना बनाएको छ, तर स्टेशनको मर्मत र व्यवस्थापन खर्च कम गर्न खोजिरहेको छ।
यसका सट्टा नासाले व्यावसायिक अन्तरिक्ष स्टेशनहरूमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ। ब्लु ओरिजिन, एक्जिओम स्पेस र भास्ट स्पेस जस्ता कम्पनीहरूले आफ्नै स्टेशन विकास गरिरहेका छन्। यी परियोजनाहरू समयमै अघि बढे, नयाँ अन्तरिक्ष यात्री उम्मेदवारहरू व्यावसायिक अन्तरिक्ष केन्द्रमा बस्ने पहिलो नासा अन्तरिक्ष यात्री बन्न सक्ने सम्भावना छ।
प्रकाशित: ८ आश्विन २०८२, बुधबार