सल्यानमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

सल्यानमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं ।

सल्यानमा पालिकास्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। आइतबारदेखि कुमाख गाउँपालिकाबाट सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने छ।

पालिकाभित्रका अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको पनि परिचयपत्र बनाइने जिल्ला प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर अर्जुन रावतले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयमै बनाएर राखिएका परिचयपत्र व्यक्तिको उपस्थितिमा नै कुमाख गाउँपालिकाको कार्यालयमार्फत वितरण गरिने भएको छ।

स्थानीय पूर्णबहादुर राना र भीमबहादुर रानालाई जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले परिचयपत्र वितरण हस्तान्तरण गरी परिचयपत्र वितरण कार्यक्रमको सुरुवात गरे।

असोज १२ गतेसम्म कुमाख गाउँपालिकाभित्रका ज्येष्ठ तथा अपाङ्गता भएका तथा अशक्त व्यक्तिको पनि परिचयपत्र बनाइने एमआइएस अपरेटर मेघराज रावतले जानकारी दिए।

दुर्गम भेगमै शिविर राखेर सेवा पुऱ्याउन गरिएको प्रयास सकारात्मक भएको सरोकारवालाको भनाइ छ। कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार सोनीले पालिकाभित्रका सात वटै वडाका सेवाग्राहीलाई पालिका केन्द्र रागेचौरबाटै सेवा दिइने भएकाले सहभागी हुन आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गाउँ टोलमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई १० वटै पालिकामा गरिने बताए। उनका अनुसार राष्ट्रिय परिचयपत्र लिन आउँदा धेरै खर्च लाग्ने भएकाले स्थानीय तहको समन्वयमा स्थानीय स्तरमा शिविरका रूपमा वितरण कार्य गरिने छ।

कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, उपाध्यक्ष लालबहादुर रावतलगायत जिल्लाका सुरक्षा निकायका प्रमुख तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डिल्लीराज रावतले मन्तव्य राखे।

आजको गोरखापत्रबाट

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार