साढे ६ अर्ब वर्षअघि पृथ्वीमा ठक्कर दिएर डाइनासोरको साम्राज्य सखाप पारेको क्षुद्रग्रहको अवस्था के भयो?

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

साढे ६ अर्ब वर्षअघि पृथ्वीमा ठक्कर दिएर डाइनासोरको साम्राज्य सखाप पारेको क्षुद्रग्रहको अवस्था के भयो?

काठमाडौं ।

झन्डै ६६ मिलियन अर्थात् ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा रहेको डाइनासोरहरूको साम्राज्य एउटा भयानक घटनासँगै अन्त्य भएको थियो। करिब १२ किलोमिटर चौडाइको एउटा क्षुद्र ग्रह ४३ हजार किलोमिटर प्रति घण्टाको गतिमा पृथ्वीमा ठोक्कियो। यो ठक्करले मृत्यु ल्याउने घटनाहरूको श्रृंखला निम्त्यायो जसले पाँचौँ सामूहिक विनाश गरायो र चराका केही प्रजाति बाहेक डाइनासोरहरू समाप्त भए।

तर त्यसपछि सगरमाथा जत्रो आकारको उक्त क्षुद्र ग्रहको अवस्था के भयो? यो प्रश्न गम्भीर रुपमा उभिएको छ।

टेक्सास विश्वविद्यालयका अनुसन्धान प्राध्यापक सीन गुलिकका अनुसार पृथ्वीमा यो क्षुद्र ग्रह दोस्रो विश्वयुद्धताका प्रयोग भएको परमाणु बमभन्दा करिब ८ अर्ब गुणा बढी ऊर्जा सहित ठोक्किएपछि त्यसबेला क्षुद्र ग्रह मूलतः वाफ बनेर “सफा धुलोमा परिणत” भयो। यो धुलो वायुमण्डलको माथिल्लो भागमा पुगेको र पछि सम्पूर्ण पृथ्वीभर बर्सिएको उनले बताए।

लाइभसाइन्सका अनुसार दशकौँसम्म रहेको उक्त धुलो आज “इरिडियम एनोमली” भनेर चिनिने पातलो तहमा परिणत भयो, जसमा पृथ्वीको अन्य भागको तुलनामा करिब ८० गुणा बढी इरिडियम छ। इरिडियम प्रायः क्षुद्र ग्रहमा पाइन्छ तर पृथ्वीको बाहिरी सतहमै निकै कम हुन्छ। यही कारणले यो तहलाई डाइनासोर समाप्त गर्ने क्षुद्र ग्रहसँग जोड्ने प्रमुख प्रमाण बनेको हो।

यो क्षुद्र ग्रहको अंश रहेको थाहा भएको एउटा मात्र तिलको दानाभन्दा सानो टुक्रा फ्रांक काइट नामक अमेरिकी भू-रसायनशास्त्रीले हवाई नजिक समुद्रतलबाट निकालिएको कोर नमुनामा भेटाएका थिए। यो खोज सन् १९९८ मा नेचर पत्रिकामा प्रकाशित भएको थियो। सन् २०२२ मा थप साना टुक्रा भेटिएको दावी भए पनि त्यो दावी सहकर्मी समीक्षा द्वारा पुष्टि भएको थिएन।

गुलिकका अनुसार ठूलो टुक्रा भेट्ने सम्भावना निकै कम छ। तर यदि भेटियो भने वैज्ञानिकहरूले क्षुद्र ग्रहले भोगेको “शक प्रक्रिया” र त्यसले झेलेको चाप तथा तापक्रमबारे अझ स्पष्ट अनुमान लगाउन सक्नेछन्।

क्षुद्र ग्रह पृथ्वीमा ठोक्किँदा विशाल खाल्डो अर्थात् क्रेटर पनि बनाएको थियो। अहिले मेक्सिको रहेको क्षेत्रमा बनेको चिक्सुलुब क्रेटर करिब १८० किलोमिटर चौडाइ र २० किलोमिटर गहिराइको छ। लाखौँ वर्षमा चट्टान र समुद्रको पिँधमा थिग्रिएका पदार्थले यसलाई ढाकेका छन् र ठूलो भाग मेक्सिकोको खाडीमुनि लुकेको छ। तर सतहबाट अझै पनि यसको घेराभित्र बनेका सिंकहोलहरू देखिन्छन्।

यो ठक्करले करिब एक माइल अग्लो सुनामी उत्पन्न गर्‍यो, जसले १४३ किलोमिटर प्रतिघण्टाको गतिमा समुद्रभर पानी धकेल्यो। विशाल लहरहरूले समुद्रतलमा पाँच तले भवनजत्रा “मेगरिपल” नामक तरंगचिह्न छाडे, जुन अहिले पनि लुइजियानाको समुद्रतलभित्र सुरक्षित छन्।
ठोक्किएपछि तात्कालिक क्षेत्रमा रहेका प्राणीहरू मात्र नभई त्यसपछिका असरहरू अझ विनाशकारी भए जसमा घातक अम्ल वर्षा, विश्वव्यापी आगलागी र विशेषगरी विशाल धुलोको बादल जसले सूर्यको प्रकाश रोक्नु, पृथ्वी चिस्याउनु र खाद्य शृंखला ढाल्नु रहेका थिए। यसलाई कतिपय वैज्ञानिकहरूले “न्यूक्लियर विन्टर” को अवस्था भनेका छन्। यसको परिणाम स्वरूप करिब ७५ प्रतिशत जीवजाति नष्ट भए।

क्यालगरी विश्वविद्यालयका ग्रह वैज्ञानिक एलेन हिल्डब्रान्डका अनुसार, यसले उत्पन्न गरेको ऊर्जा “१० हजार पटक पुनः–पुनः भएको पूर्ण परमाणु युद्धसरह” थियो। उनले १९९१ मा प्रकाशित गरिएको अनुसन्धानपत्रमा चिक्सुलुब क्रेटरको खोज सहलेखक बनेका थिए, जसले डाइनासोरहरूको अन्त्यसँग यसको सम्बन्ध प्रमाणित गरेको थियो।

उनका अनुसार यस्तो ठक्करले पृथ्वीको अधिकांश जीवन समाप्त हुनु कुनै अचम्मको कुरा होइन। उनले भने, “यहाँ अल्बर्टामा पनि म त्यस प्रभावको शक्ति देख्छु। यहाँको सतहमा देखिने १ देखि २ सेन्टिमिटर बाक्लो तह युकाटन प्रायद्वीपबाट उडेर आएको सामग्री हो।”

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार