Technology Khabar ६ आश्विन २०८२, सोमबार
काठमाडौं ।
चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले शपथ ग्रहण गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिंहले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथ लिए।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार नियुक्त गरेका हुन्।
कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश हुन्। त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन्। यसैगरी मन्त्री परियार कृषि विज्ञ हुन भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुन्।
वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा छन्। बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन्।
नयाँ मन्त्रीहरुको शपथपछि प्रधानमन्त्री कार्कीसँग खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी रहेको छ।
प्रकाशित: ६ आश्विन २०८२, सोमबार