Technology Khabar ६ आश्विन २०८२, सोमबार
काठमाडौं ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसँग भेटगरी देशको वर्तमान जटिल अवस्था र त्यसले अटोमोबाइल व्यवसायमा पारेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ।
अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थिति रहेको छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरु सहित सबै किसिमका अटोमोबाइल वस्तुहरुको प्रतिनिधित्व गर्ने ४९ वर्ष पुरानो संस्था भएको जानकारी दिँदै सरकारले नाडाले दिएका सुझावहरु मध्ये केही सुझावहरुलाई मात्र सम्बोधन गरेमा पनि अटोमोबाइल व्यवसाय गतिशिल हुने बताए।
आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमनचैन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्याप समेत तयार गर्नु पर्ने धारणासहित सरकारसँग सहकार्य गरेर अघि बढन चाहेको बताए।
छलफलमा सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरियो।
खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेशियोमा हाल ६० प्रतिशतको सीमा लाई बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने भन्दै नेपाल सवारी प्रदूषणा मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाकोतर्फबाट वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरुको कार्यान्वयनका लागि समेत अनुरोध गरिएको थियो।
यसबाहेक हालै गठन भएको उद्योग प्रवर्द्धन परिषदमा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत प्रतिनिधिमण्डलले आग्रह गरेको थियो।
छलफलको अन्तमा सम्माननीय प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भिर रहेको बताइन्। यसै क्रममा उनले आफु कानून व्यवसायी भएकोले नेपालको उद्योग व्यवसायका समस्याहरुका सम्बन्धमा कम जानकार भएको बताउँदै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको बताइन्।
जस्तोसुकै विपद आइलागे पनि अठौटका साथ अघि बढनु पर्ने आश्वासन दिँदै विधिको शासनलाई सबैले पालन गर्नु पर्ने र सरकार सदैव व्यवसायीहरुको साथमा रहने उनको भनाई थियो। व्यवसायीहरुले समेत सरकारलाई सहयोग गर्न तयार रहेको कुरा सुन्दा आफुलाई गौरवको अनुभूति भइरहेको सुनाउँदै प्रधानमन्त्री कार्कीले नेपालको बैकिङ प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासन समेत दिइन्।
नीजि उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने, ब्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरुलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गरिने आश्वासनसमेत दिइन्।
यसबाहेक वर्तमान सरकारले निर्वाचन र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको पनि बताइन्। छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्यद्वय कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल समेतको उपस्थिति रहेको थियो।
प्रकाशित: ६ आश्विन २०८२, सोमबार