मनाङ जिल्लाका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा फोरजी सेवा सञ्चालन

Technology Khabar ५ आश्विन २०८२, आईतवार

मनाङ जिल्लाका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा फोरजी सेवा सञ्चालन

काठमाडौं ।

नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाका भू-धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको छ।

विगत लामो समयदेखि गाउँपालिकाको वडा नं.-१ पिसाङ, वडा नं.-३ ªfवल, वडा नं.-८ टंकी मनाङ र वडा नं.-९ खाङसारमा भी-स्याट प्रविधिबाट टूजी सेवा सञ्चालन हुँदै आएकोमा उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको र पर्यटकका साथसाथै स्थानीय तथा व्यवसायीहरुको चापका कारण भी-स्याट प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाई महसुस भएपश्चात् ग्राहकहरुको मागलाई ध्यानमा राख्दै यही आश्विन ४ गतेदेखि कम्पनीले फोरजी सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

नेपाल टेलिकमकाअनुसार, भौगोलिक विकटताका कारणले रेडियो लिङ्क (Radio Link) बाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीसहर-खाङसार एडीएसएस लिङ्क (ADSS Link) सञ्चालन भएपछि उक्त क्षेत्रमा ४जी मोबाइल सेवा सञ्चालन सम्भव भएको हो।

यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा ४जी मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।

चामे गाउँपालिका-३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तरका सम्बन्धमा स्थानीयवासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौं ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी यही असोज १ गतेदेखि टूजी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो।

यसैगरी नासोङ गाउँपालिका वडा नं.-१ तालगाउँमा टूजी र थ्रीजी सेवाप्रवाह हुँदै आएकोमा आश्विन ५ गतेदेखि ४जी सेवा थप गरी सञ्चालनमा ल्याइएको छ। यस स्थानमा थप गरिएको ४जी सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्ने बताईएको छ।

मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा पुगेको छ।

नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने भी-स्याट प्रणालीबाट सेवा सञ्चालन भइरहेको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ५ आश्विन २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया