फोर्टनाइटमा अब इन गेम आइटम बनाउने र बेच्ने सुविधा थपिँदै, क्रियटरहरुले थप रकम कमाउन सक्ने

Technology Khabar ४ आश्विन २०८२, शनिबार

फोर्टनाइटमा अब इन गेम आइटम बनाउने र बेच्ने सुविधा थपिँदै, क्रियटरहरुले थप रकम कमाउन सक्ने

काठमाडौं ।

फोर्टनाइटमा अनुभव निर्माण गर्ने क्रियटरहरूले अब नयाँ तरिकाले आम्दानी गर्न सक्ने भएका छन्। एपिकले जनाए अनुसार डेभलपरहरूले चाँडै खेलभित्रका सामग्री (इन-गेम आइटम) बनाउने र बेच्ने सुविधा पाउनेछन्, जसको बिक्रीबाट खर्च भएको भी-बक्सको अंश उनीहरूले प्राप्त गर्नेछन्। अघिसम्म भने क्रियटरहरूले प्रयोगकर्ताले आफ्ना “आइल्यान्ड” मा बिताएको समयको आधारमा मात्र आम्दानी गर्ने गरेका थिए।

एपिकका अनुसार डेभलपरहरूले उपभोग्य र टिकाउ किसिमका आइटम बनाउन ‘अनरियल एडिटर फर फोर्टनाइट’ मा आउने नयाँ उपकरण र “भर्स-आधारित एपीआई” प्रयोग गर्नेछन्। कम्पनीले प्रारम्भिक चरणमा राजस्व बाँडफाँटमा उदार नीति ल्याउने बताएको छ।

सामान्यतया क्रियेटरहरूले बिक्री रकमको ५० प्रतिशत प्राप्त गर्नेछन्, तर डिसेम्बर २०२५ देखि २०२६ को अन्त्यसम्म भने उनीहरूले १०० प्रतिशत नै पाउने इन्ग्याजेटले उल्लेख गरेको छ।

एपिकले लिने ५० प्रतिशत हिस्सा (जुन एपलको एप स्टोरको ३० प्रतिशतभन्दा बढी हो) फोर्टनाइट सञ्चालन गर्न आवश्यक सर्भर होस्टिङ, सुरक्षा र नियमन, अनुसन्धान र विकास लगायत खर्चका लागि हुने बताइएको छ।

कम्पनीले यो व्यवसाय घाटामा सञ्चालन गर्दै आएको दावी पनि गरेको छ। तर ५० वा १०० प्रतिशत “भी-बक्स भ्यालु” वास्तविक पैसामा कति हुन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा रूपान्तरण गरेर बुझ्न सजिलो छैन।

यससँगै एपिकले डेभलपरहरूलाई आफ्नो सामग्री फोर्टनाइटको “डिस्कभर फिड” मा नयाँ “स्पोन्सर्ड रो” मार्फत प्रदर्शित गर्न पैसा तिर्न सक्ने सुविधा दिनेछ। नयाँ र पुराना प्रयोगकर्तासँग अझ राम्रो संलग्नता बढाउनका लागि डेभलपरहरूलाई समुदाय फोरम बनाउन र आफ्ना आइल्यान्डबारे अपडेटहरू साझेदारी गर्न नयाँ उपकरणसमेत दिइनेछ।

यी सबै परिवर्तनहरू फोर्टनाइटलाई ब्याटल रोयल खेलमा मात्र नभई खेल र सामाजिक अनुभवका लागि प्लेटफर्मका रूपमा विस्तार गर्ने रणनीताअन्तर्गत ल्याइएका हुन्।

एपिकले यसलाई ‘रोब्लोक्स’ जस्तै बनाउने प्रयास गरिरहेको छ, जसले वयस्क र बालबालिकासहितको सक्रिय समुदायमार्फत ठुलो फाइदा लिएको छ। यस्ता प्रयोगकर्ताको सहभागिताले रोब्लोक्समा बालबालिकासम्बन्धी सुरक्षा समस्या पनि निम्त्याएको छ, तर एपिकले यी जोखिमलाई सामना गर्न तयार रहेको देखाएको छ।

प्रकाशित: ४ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार