ट्रम्पको बेलायतको भ्रमणका क्रममा आयोजित सीईओ डिनरमा टिम कूक, अल्टम्यानलगायत प्रविधि कम्पनीका दर्जनौं वरिष्ठहरु उपस्थित

Technology Khabar ४ आश्विन २०८२, शनिबार

ट्रम्पको बेलायतको भ्रमणका क्रममा आयोजित सीईओ डिनरमा टिम कूक, अल्टम्यानलगायत प्रविधि कम्पनीका दर्जनौं वरिष्ठहरु उपस्थित

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो बेलायत भ्रमणको अवसरमा बुधबार आयोजना गरिएको भोजमा ठूला प्रविधि कम्पनीका प्रमुख व्यक्तिहरू अतिथि सूचीमा रहेका थिए।

न्यूयोर्क टाइम्सका अनुसार भोजको सिटिङ चार्टमा एनभिडियाका सीईओ जेन्सेन हुयाङ, एपलका सीईओ टिम कुक, भेन्चर क्यापिटालिस्ट र ह्वाइट हाउस एआई तथा क्रिप्टो प्रमुख डेभिड स्याक्स, अल्फाबेट र गुगलकी अध्यक्ष रूथ पोराट, माइक्रोसफ्टका सीईओ सत्य नडेला, सेल्सफोर्सका सीईओ मार्क बेनिओफ र ओपनएआईका साम आल्टम्यानको नाम समावेश थियो।

बिहीबार अमेरिका र बेलायतले ‘टेक प्रोस्पेरिटी डिल’ नामक साझेदारीमा हस्ताक्षर गरेका छन्, जसले आणविक प्रविधि, एआई र क्वान्टम प्रविधि विकासमा ध्यान दिनेछ।

टेकक्रञ्चका अनुसार  यसै साता गुगल, माइक्रोसफ्ट, एनभिडिया र ओपनएआईले बेलायतमा डाटा सेन्टर बनाउने घोषणा गरेका थिए भने कोरविभ र सेल्सफोर्सले देशमा अर्बौँ पाउण्ड लगानी गर्ने बताए। कुल मिलाएर अमेरिकी प्रविधि कम्पनीहरूले बेलायतको एआई पूर्वाधार विकासका लागि ३१ अर्ब पाउण्ड (४२ अर्ब डलर) लगानी गर्ने वाचा गरेका छन्।

यसपटकको भोजमा सामान्यतया हुने हलिउड सितारामुखी भन्दा बढी प्रविधि र व्यवसायी क्षेत्रका नामहरू देखिएका छन्। यस परिवर्तनले एआई युगमा अमेरिका र बेलायतका आर्थिक प्राथमिकता कता मोडिएको छ भन्ने संकेत गरेको छ। प्रविधि र त्यसका नेताहरू ट्रम्पको दोस्रो कार्यकालमा अझै बढी महत्वका रूपमा देखिन थालेका छन्।

गत वर्ष मात्रै ओपनएआई, गुगल र एपलजस्ता कम्पनीहरूले सरकारसँग सहकार्य गर्दै एआई असिस्टेन्ट उपकरण उपलब्ध गराउनेदेखि लिएर अमेरिकाको स्वास्थ्य उद्योगका लागि डिजिटल हेल्थ इकोसिस्टम निर्माण गर्नेसम्मको वाचा गरेका थिए।

राष्ट्रपतिले प्रविधि क्षेत्रमा बढी ध्यान दिएका छन्—एपलको आपूर्ति श्रृंखला बाहिर आउटसोर्सिङ गरेको भन्दै टिम कुकलाई आलोचना गर्ने, “एन्टी-वोक” एआई आदेशमा हस्ताक्षर गर्ने, र डाइभर्सिटी, इक्विटी र इन्क्लुजन (डीईआई) कार्यक्रमलाई “अवैध” ठहर गर्दै संघीय निधि पाउने निजी कम्पनीहरूको छानबिन गर्न अटर्नी जनरललाई निर्देशन दिने जस्ता कदम चालेका छन्।

यस वर्षको राष्ट्रपति पदस्थापनमा  मार्क जुकरबर्ग, जेफ बेजोसलगायत अन्य प्रविधि नेताहरू सहभागी भएका थिए। सेप्टेम्बरको सुरुवातमा ट्रम्पले सिलिकन भ्यालीका ३३ प्रमुख प्रविधि व्यक्तिहरूसहित एउटा ‘टेक डिनर’ आयोजना गरेका थिए, जसमा अल्टम्यान, कुक र जुकरबर्ग पनि सहभागी भएका थिए। तर, पूर्व वरिष्ठ सल्लाहकार र एक समय “फर्स्ट बडी” भनेर चिनिएका इलन मस्क भने कुनै पनि कार्यक्रममा उपस्थित थिएनन्।

प्रकाशित: ४ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार