आईफोन १७ प्रतिको आकर्षण: बेइजिङमा एप्पलका प्रमुख स्टोरहरुमा लामो लाइन

Technology Khabar ३ आश्विन २०८२, शुक्रबार

आईफोन १७ प्रतिको आकर्षण: बेइजिङमा एप्पलका प्रमुख स्टोरहरुमा लामो लाइन

काठमाडौं ।

चीनको राजधानी बेइङस्थित एप्पलको प्रमुख स्टोरमा शुक्रबार आईफोन १७ सार्वजनिक भएको दिन सयौँ मानिसहरू लाइनमा उभिएका छन्। यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा यो सिरिजको बिक्री उत्साहजनक शुरुवात भएको संकेत गरेको छ।

सानलिटुनस्थित एप्पल स्टोरमा बिहानै करिब ३०० जना अनलाइन अर्डर गरेको फोन लिन आएका मध्ये ३५ वर्षीय सुके वाङ पनि थिए। उनले चीनमा ९,९९९ युआन (१,४०६ डलर) मूल्य पर्ने प्रो म्याक्स मोडल किनेका छन्, जुन विश्लेषकहरूको अनुमानमा १७ सिरिजको सबैभन्दा धेरै बिक्री हुने मोडल हुने रोयटर्सले उल्लेख गरेको छ।

“मलाई १७ सिरिजको नयाँ डिजाइन निकै मन परेको छ। सुन्तला रङ सुन्दर देखिन्छ तर अलि बढी चमकदार छ। एयर मोडल पनि राम्रो छ, तर प्रो म्याक्समा ब्याट्री लाइफ लामो हुन्छ,” वाङले भने।

एप्पलका अनुसार आईफोन १७ को बेस मोडलमा अझ चम्किलो र खरोंच प्रतिरोधी स्क्रिन छ। यसमा अगाडिको क्यामेरा पनि सुधारिएको छ, जसले क्षैतिज सेल्फीलाई अझ राम्रो देखाउने बताइएको छ।

विश्लेषकहरूका अनुसार आईफोन १७ सिरिजले चीनमा एप्पलको बजार हिस्सेदारी र आपूर्ति वर्षको अन्त्यतिर बढाउन मद्दत गर्नेछ। यस वर्ष कमजोर उपभोक्ता मागबीच शाओमी र ह्वावेबाट तीव्र प्रतिस्पर्धाका कारण एप्पल दबाबमा परेको छ। एप्पलले प्रि-अर्डरको तथ्यांक सार्वजनिक गरेको छैन। काउन्टरप्वाइन्ट रिसर्चले यसै हप्ताको सुरुवातमा सार्वजनिक गरेको तथ्यांकअनुसार, तेस्रो त्रैमासिकका पहिलो आठ सातामा एप्पलको आपूर्ति ६ प्रतिशतले घटेको छ।

अनुसन्धान संस्था ओम्डियाका वरिष्ठ विश्लेषक चिउले श्वानका अनुसार नयाँ सिरिजका कारण चीनमा आईफोन आपूर्ति वर्षको दोस्रो भागमा वार्षिक ११ प्रतिशत बढ्ने र यसले २०२५ मा एप्पललाई ५ प्रतिशत वार्षिक वृद्धि दिलाउने अपेक्षा गरिएको छ।

“आईफोन १७ प्रो म्याक्सले ठूलो पुनःडिजाइनका कारण १६ प्रो म्याक्सलाई भन्दा उत्कृष्ट प्रदर्शन गर्नेछ। चीनमा यो खालको परिवर्तनले प्रायः उपभोक्तालाई फोन बदल्न प्रेरित गर्ने गरेको छ,” श्वानले भने। “यो २०२६ मा चीनमा एप्पलको सबैभन्दा उत्कृष्ट मोडल बन्ने सम्भावना छ।”

आईफोन एयर चीनमा टेलिकम अपरेटरहरूले समर्थन गर्ने एक मात्र ई-सिम (डिजिटल सिम) भएको मोडल हुनेछ। तर एप्पलले चीनमा एयर मोडलको प्रि-सेल सुरु गरेको छैन। चीन मोबाइल, चीन टेलिकम र चीन युनिकमबाट ई-सिम सेवाको उपलब्धता नियामक स्वीकृतिमा निर्भर रहने एप्पलले जनाएको छ। “आईफोन एयर सम्भवतः हल्का र पातलो प्रविधिको परीक्षण मोडल बन्न सक्छ, जसलाई पछि फोल्डेबल आईफोनमा प्रयोग गर्न सकिन्छ,” आईडीसीका वरिष्ठ विश्लेषक विल वाङले बताए।

तर वाङका अनुसार एयरले ठूलो बिक्री बढावा दिने छैन। पातलो डिजाइन पाउन एप्पलले ब्याट्री लाइफ, क्यामेरा र अडियो गुणस्तरमा सम्झौता गरेको छ, जुन कुरा चिनियाँ उपभोक्ताले निकै महत्व दिने गर्छन्।

प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार