Technology Khabar ३ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
पछिल्ला १७ वर्षमा सूर्यको गतिविधि लगातार बढ्दै गएको छ। यसअघि घट्दो प्रवृत्ति देखिँदा खगोलभौतिक विज्ञहरू सूर्य फेरि १८३० मा भएको जस्तो “ग्रान्ड मिनिमम” अवस्थातर्फ गइरहेको त होइन भन्ने अनुमान गरिरहेका थिए।
१९८० को दशकदेखि सूर्यको गतिविधि घट्न थालेको थियो। हरेक ११ वर्षे सूर्यकलामा कम दाग, कम ज्वाला र कम कोरोनल मास इजेक्सन देखिँदै गयो। २००८ मा सूर्य गतिविधि अत्यन्त न्यून अवस्थामा पुगेको थियो, जुन सूर्य चक्र २४ को सुरुवात पनि हो। त्यो वर्ष रेकर्डकै कमजोर गतिविधि भएको थियो।
“सबै संकेतहरूले सूर्य दीर्घकालीन न्यून गतिविधितर्फ जाँदैछ भन्ने देखाइरहेका थिए,” नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका जामिस जसिन्स्कीले भने, “तर यो प्रवृत्ति उल्टो भएको देख्दा आश्चर्य लाग्यो। सूर्य विस्तारै जागिरहेको छ।”
जसिन्स्कीको नेतृत्वमा गरिएको अनुसन्धानमा सूर्य र सौर्य पवन सम्बन्धी विभिन्न मिसनका डाटा संकलन गरिएको छ। अध्ययनले देखाएको छ कि २००८ पछि सबै सूचकहरू बढेका छन्। सौर्य पवनको वेग ६ प्रतिशत, घनत्व २६ प्रतिशत, तापक्रम २९ प्रतिशत र अन्तरग्रहीय चुम्बकीय क्षेत्रको शक्ति ३१ प्रतिशतले बढेको छ। यी सबै सूर्यको चुम्बकीय गतिविधि बढेको प्रमाण हुन्।
स्पेस डटकमका अनुसार सूर्य सक्रिय हुँदा पृथ्वीमा अरोरा देखिने जियोम्याग्नेटिक आँधीहरू बढ्छन् भने उपग्रह, अन्तरिक्ष स्टेशन र अन्तरिक्ष यात्रीलाई कोरोनल मास इजेक्सन र विकिरण ज्वालाबाट बढी जोखिम हुन्छ।
सूर्यले किन यस्तो उल्टो बाटो लिएको हो भन्ने अझै स्पष्ट छैन, यद्यपि अतीतमा पनि यस्ता अवस्था देखिएका थिए। सन् १६४५ देखि १७१५ सम्म “माउन्डर मिनिमम” नामले चिनिने अवधिमा सूर्यमा जम्मा ५० भन्दा कम दाग मात्र देखिएका थिए। साधारण सूर्य चक्रको उच्च सक्रियतामा सयभन्दा बढी दाग हुने गर्छ। अर्को न्यून गतिविधिको अवधि १७९० देखि १८३० सम्म पनि देखिएको थियो।
रोचक कुरा के भने माउन्डर मिनिममको समय उत्तरी गोलार्धमा “सानो हिमयुग” भनिने चिसो युगसँग मेल खाएको थियो। यस अवधिमा असाधारण चिसो जाडोले लण्डनको टेम्स नदी नै पूर्णरूपमा जमेको थियो।
यद्यपि, सानो हिमयुग माउन्डर मिनिमम सुरु हुनुभन्दा पहिले नै प्रारम्भ भएको थियो र कतिपय अनुसन्धानले यो १३औँ शताब्दीदेखि १८५० सम्म चलिरहेको देखाएका छन्। यसको प्रमुख कारण ज्वालामुखी गतिविधिबाट वायुमण्डलमा पुगेको खरानीले सूर्यको प्रकाश अवरुद्ध गर्नु भएको हुनसक्ने अनुमान छ।
यता, सूर्यको गतिविधिमा हुने उतारचढावले पृथ्वीको जलवायुमा खासै प्रभाव पारेको देखिँदैन। त्यस्ता कारणले भएको चिसोपनलाई मानवीय गतिविधिबाट हुने तातोपनाले ढाकेको वैज्ञानिकहरूको निष्कर्ष छ।
“सूर्यको ११ वर्षे चक्रलाई हामी राम्ररी बुझ्छौं तर दीर्घकालीन प्रवृत्तिहरू अझै पनि अनिश्चित र अपूरै बुझाइको विषय छन्,” जसिन्स्कीले भने।
यो अध्ययन सेप्टेम्बर ८ मा द एस्ट्रोफिजिकल जर्नल लेटर्स मा प्रकाशित भएको हो।
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार