
काठमाडौं ।
ह्वावेले पहिलोपटक आफ्नो दीर्घकालीन चिप योजनाको रूपरेखा बिहीबार सार्वजनिक गर्दै विश्वका केही सबैभन्दा शक्तिशाली कम्प्युटिङ प्रणालीहरू ल्याउने बताएको छ। यसले चीनले एनभिडियाजस्ता विदेशी अर्धचालक आपूर्तिकर्ताबाट आत्मनिर्भर बन्न खोजिरहेको संकेत गरेको छ।
रोयटर्सका अनुसार वर्षौँदेखि गोप्य राखिएको चिप्स व्यवसायबारे विवरण प्रस्तुत गर्दै ह्वावेले आफ्ना असेन्ड आर्टिफिसियल इन्टेलिजेन्स चिप र कुनपेंग सर्वर चिपका समयसीमा सार्वजनिक गरेको छ।
ह्वावेका हालका घुम्ती अध्यक्ष एरिक जूले कम्पनीसँग अब आफ्नै उच्च–ब्यान्डविथ मेमोरी भएको बताएका छन्। यो प्रविधि हालसम्म दक्षिण कोरियाको एसके हाइनिक्स र सामसङ इलेक्ट्रोनिक्सले नियन्त्रण गर्दै आएका थिए। “हामी १ वर्षको चक्रमा नयाँ संस्करण ल्याउनेछौं र हरेक संस्करणमा कम्प्युटिङ क्षमता दोब्बर बनाउनेछौं,” जूले शाङ्घाईमा आयोजित ह्वावे कनेक्ट वार्षिक सम्मेलनमा भने।
चीनले पछिल्ला हप्तामा विश्वको अग्रणी एआई चिप निर्माता एनभिडियामाथि दबाब बढाएको छ। चिनियाँ अधिकारीहरूले सोमबार एनभिडियाले मुलुकको प्रतिस्पर्धा विरोधी कानुन उल्लङ्घन गरेको आरोप लगाएका थिए। फाइनान्सियल टाइम्सको समाचारअनुसार शीर्ष प्रविधि कम्पनीहरूलाई एनभिडियाका एआई चिप किन्ने प्रक्रिया रोक्न र अर्डर रद्द गर्न निर्देशन दिइएको छ।
ह्वावेको यो घोषणा शुक्रबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको बैठकअघि आएको छ। यसअघि यसै हप्तामा दुवै मुलुकका व्यापार वार्ताकारबीचको छलफल टुंगिएको थियो। “चीन धेरै क्षेत्रमा राम्रो प्रगति गरिरहेको सन्देश दिन खोज्दैछ … सी चिनफिङ डोनाल्ड ट्रम्पसँग कुरा गर्दा अझ आत्मविश्वासी हुनेछन्,” सिङ्गापुर नेशनल युनिभर्सिटीका एसोसिएट प्रोफेसर अल्फ्रेड वुले भनेका छन्।
“मानिसहरूले परिस्थिति सुधार भइरहेको, सबैकुरा सकारात्मक दिशामा गइरहेको र अमेरिका–चीनबीचको तनाव केही कम हुने अनुमान गरेका छन् तर मेरो विचारमा वास्तवमा स्थिति शान्तसँगै थप चर्किँदै गएको छ,” उनले थपे।
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार