Technology Khabar ३ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
माइक्रोसफ्टले यस वर्षको अक्टोबरदेखि विन्डोज डिभायसहरूमा माइक्रोसफ्ट ३६५ कोपाइलट एप स्वचालित रूपमा इन्स्टल गर्ने योजना बनाएको छ।
माइक्रोसफ्टले सन् २०२५ को अक्टोबरदेखि, युरोपेली आर्थिक क्षेत्र (ईईए) बाहिर पहिले नै माइक्रोसफ्ट ३६५ एपहरू इन्स्टल्ड भएका विन्डोज डिभाइसहरूमा माइक्रोसफ्ट ३६५ कोपाइलट एप्स स्वचालित रूपमा इन्स्टल गर्न सुरु गर्ने घोषणा गरेको छ।
आर्टिफिसियल इन्टेलिजेन्समा आधारित कोपाइलटले वर्ड, एक्सेल र पावरपोइन्ट जस्ता एप्लिकेसनहरूसँग एकीकृत हुनेछ भने उत्पादकता बढाउन नोटबुक र एआई एस्सिटेण्ट जस्ता अतिरिक्त सुविधाहरू पनि ल्याउने रिपोर्ट गरिएको छ।
इन्स्टलेसन प्रक्रिया नोभेम्बरको मध्यसम्ममा पूरा हुने बताइएको छ र एप्लिकेसन स्टार्ट मेनुमा देखा पर्ने बताइएको छ भने डिफल्ट (पूर्वनिर्धारित) रूपमा सक्रिय हुने टेलिग्राफले रिपोर्ट गरेको छ।
यद्यपि, आईटी प्रशासकहरूसँग माइक्रोसफ्ट ३६५ एप्स एडमिन सेन्टर मार्फत यो परिवर्तन रोक्ने विकल्प रहेको उल्लेख गरिएको छ भने माइक्रोसफ्टले प्रयोगकर्ताहरू र समर्थन टोलीहरूलाई भ्रमबाट बच्न अग्रिम सूचित गर्न सल्लाह दिएको छ।
युरोपेली प्रयोगकर्ताहरूलाई यो अनिवार्य इन्स्टलेसनबाट छुट दिइएको र बाँकी विश्वमा भने कोपाइलट माइक्रोसफ्ट ३६५ इकोसिस्टमको हिस्सा बन्ने उल्लेख गरिएको छ।
यो परिवर्तन कोपाइलट सुविधाहरूलाई सजिलै पहुँचयोग्य र प्रयोगकर्ताहरूको दैनिक काममा एकीकृत गर्ने माइक्रोसफ्टको प्रयासको अंश भएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार