गुगलको नानो बनाना सर्वाधिक प्रयोग गर्नेमा भारतीय प्रयोगकर्ता

Technology Khabar २ आश्विन २०८२, बिहीबार

गुगलको नानो बनाना सर्वाधिक प्रयोग गर्नेमा भारतीय प्रयोगकर्ता

काठमाडौं ।

आधिकारिक रूपमा जेमिनी २.५ फ्ल्याश इमेज भनिने गुगलको नानो बनाना इमेज–जेनेरेशन मोडेलले गत महिनामा सार्वजनिक भएदेखि नै जेमिनी एपलाई विश्वभर लोकप्रिय बनाइरहेको छ।

तर भारतमा भने यसले विशेष रचनात्मक रूप लिँदै रेट्रो पोर्ट्रेटदेखि स्थानीय ट्रेन्डसम्म भाइरल भएको छ। तर यससँगै गोपनीयता र सुरक्षाबारे चिन्ता पनि देखिन थालेका छन् ।

गुगल डीपमाइन्डका जेमिनी एप्सका मल्टिमोडल जेनेरेशन लिड डेभिड श्यारोनका अनुसार हाल नानो बनाना प्रयोग गर्नेमा भारत नम्बर एकमा रहेको छ। उनले यो हप्ताको एक मिडिया सत्रमा बताएका अनुसार यसको लोकप्रियताले जेमिनी एपलाई भारतमा एप स्टोर र गुगल प्ले दुवैमा निःशुल्क एप्सको शीर्ष स्थानमा पुर्‍याएको छ। एप विश्वका अन्य मुलुकका एप स्टोरमा पनि शीर्ष स्थानमा पुगेको एपफिगर्सको तथ्याङ्कले देखाएको छ।

टेकक्रञ्चका अनुसार विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार र चीनपछि सबैभन्दा ठूलो अनलाइन प्रयोगकर्ता भएको मुलुक भएकाले भारतले प्रयोगमा अग्रणी हुनु स्वाभाविक भए पनि, गुगललाई चासो यसबारे मात्र नभई प्रयोगकर्ताले नानो बनानालाई गर्ने अनौठो तरिकाबारे पनि भएको छ। लाखौँ भारतीयले यसलाई स्थानीय शैली, अत्यन्तै रचनात्मक र कतिपय अवस्थामा अप्रत्याशित रूपमा प्रयोग गरिरहेका छन्।

प्रमुख ट्रेन्डमध्ये एक हो – १९९० को दशकको बलिउड शैलीमा आफूलाई देखाउने ‘रेट्रो लुक’। यसमा पुरानै शैलीका कपडा, हेयरस्टाइल र मेकअपसमेत देखाइन्छ। श्यारोनका अनुसार यो ट्रेन्ड भारतमै सुरु भएको हो। यसको भिन्न रूप ‘एआई सारी’ पनि देखिएको छ, जसमा प्रयोगकर्ताले परम्परागत पोशाकसहितका भिन्टेज शैलीका पोर्ट्रेट बनाउन थालेका छन्।

भारतमा देखिएको अर्को रोचक ट्रेन्ड भने प्रयोगकर्ताले आफ्ना सेल्फीलाई बिग बेन वा बेलायतका पुराना टेलिफोन बुथजस्ता विश्वप्रसिद्ध स्थल र शहरका दृश्य अगाडि राखेर सिर्जना गर्नु हो।

भारतीय प्रयोगकर्ताले नानो बनानाबाट वस्तुहरू परिवर्तन गर्ने, टाइम–ट्राभल प्रभाव दिने, आफूलाई रेट्रो पोस्टल स्ट्याम्पका रूपमा देखाउने, कालोसपेद पोर्ट्रेट बनाउनेदेखि आफ्नै युवा रूपसँगको भेटचित्र समेत सिर्जना गरिरहेका छन्।

यीमध्ये कतिपय ट्रेन्ड भारतमा सुरु नभए पनि भारतले तिनलाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको श्यारोनले बताए। उदाहरणका लागि ‘फिग्युरिन ट्रेन्ड’ थाइल्यान्डमा सुरु भएको थियो, त्यसपछि इन्डोनेसियामा फैलियो र भारतमा लोकप्रिय भएपछि विश्वभर फैलियो।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया