Technology Khabar २ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका- १. चराङमा पहिलो पटक विद्युतीय सवारीसाधन चार्ज गर्न चार्जिङ स्टेसन सञ्चालनमा आएको छ।
उपल्लो मुस्ताङमा पर्यटकले विद्युतीय सवारीसाधनमा आउने र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमानामा रहेको कोरला नाकाबाट धमाधम विद्युतीय गाडी भित्रिन थालेपछि शारदा ग्रुपले फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।
फास्ट चार्जिङ स्टेसनको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले उद्घाटन गर्दै अब कोरला नाकाबाट भित्रिने विद्युतीय सवारीसाधन तथा पर्यटकलाई सहज हुने गरी ठाउँ ठाउँमा स्टेसन राख्नुपर्ने बताए।
अध्यक्ष विष्टले भने, “अब उपल्लो मुस्ताङमा आउने विद्युतीय सवारीसाधनलाई कुनै समस्या हुँदैन, कोरला नाकाबाट भित्रिने नयाँ इभीलाई पनि चार्जिङको आवश्यकता पर्छ।”
विगतमा बेनी-जोमसोम सडकखण्ड अन्तर्गत विद्युतीय सवारीसाधन चार्जिङ सकिएपछि जोमसोममा राखेर उपल्लो मुस्ताङ जान स्थानीय सवारीसाधन भाडामा लिनुपर्ने बाध्यता थियो। एक सवारीसाधनलाई न्यूनतम आधा घण्टा लाग्छ। चार्जिङ स्टेसनमा विद्युतीय सवारीसाधनले चार्ज गरेको प्रतियुनिट १० रुपियाँ चार्ज शुल्क तोकिएको छ।
शारदा ग्रुपले उपल्लो मुस्ताङमा थप स्टेसनका लागि तयारी भइरहेको जनाएको छ। ल्होमन्थाङ गाउँपालिका-१, नेचुङ भन्सारमा समेत चार्जिङ स्टेसनको तयारी भइरहेको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीदेखि माथि कोरला नाकासम्म कम्तीमा पाँच वटा स्टेसनको आवश्यकता रहेको जनाइएको छ। विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारका लागि भन्सार कार्यालयले समेत पहल गरिरहेको प्रमुख रमेश खड्काले बताए।
प्रकाशित: २ आश्विन २०८२, बिहीबार