Technology Khabar २ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
टेस्लाले अष्ट्रेलियामा आफ्ना दुई शक्तिशाली ब्याट्री फिर्ता बोलाएको छ। कम्पनीले केही युनिटमा आगलागी भई “सामान्य सम्पत्ति क्षति” भएको रिपोर्ट पाएपछि अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्ज्युमर कमिसन (एसीसीसी) ले जानकारी दिएको हो।
यो फिर्ता अभियान अन्तर्गत सन् २०२० नोभेम्बरदेखि २०२२ जुनबीच अमेरिकामा बनेर अष्ट्रेलियामा बिक्री गरिएका अनिश्चित संख्याका पावरवाल २ युनिट प्रभावित हुनेछन्। यी ब्याट्री सेलहरू एक थर्ड–पार्टी आपूर्तिकर्ताले उत्पादन गरेको एसीसीसीले जनाएको छ। यद्यपि, आगलागीका घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ।
पावरवाल २ मा १४ किलोवाट आवरको लिथियम आयन ब्याट्री हुन्छ र प्रायः सौर्य प्यानलसँग जडान गरी दिनमा उत्पादन भएको अतिरिक्त ऊर्जा भण्डारण गर्न प्रयोग गरिन्छ।
ग्राहकले आफ्नो ब्याट्रीलाई भर्चुअल पावर प्लान्टमा पनि समावेश गर्न सक्छन्, जसले विद्युत् सञ्जालमा बढी लोड परेको बेला सहयोग गर्छ। यसरी सहभागी भएमा वारेन्टी १५ वर्षसम्म बढ्ने र ऊर्जा बिल घटाउन मद्दत गर्ने सुविधासमेत उपलब्ध हुन्छ।
फिर्ता प्रक्रियाअनुसार प्रभावित घरधनीलाई टेस्ला एपमार्फत जानकारी दिइनेछ। कम्पनीले आगलागीको जोखिम कम गर्न ब्याट्री डिस्चार्ज गर्ने प्रक्रिया सुरु गरिसकेको छ। फिर्ता बोलाइएका ब्याट्री निःशुल्क प्रतिस्थापन गरिनेछन्। साथै, ऊर्जा बचतमा भएको घाटा सम्बन्धी क्षतिपूर्ति प्रत्येक केसअनुसार विचार गरिने एसीसीसीले जनाएको छ।
प्रकाशित: २ आश्विन २०८२, बिहीबार