आईफोनमा रहेको ‘डाइरेक्ट टु सेल’ स्याटेलाइट सेवाले यसरी जोगायो छाँगामा खसेर बेहोश भएकी युवतीको ज्यान

Technology Khabar २ आश्विन २०८२, बिहीबार

आईफोनमा रहेको ‘डाइरेक्ट टु सेल’ स्याटेलाइट सेवाले यसरी जोगायो छाँगामा खसेर बेहोश भएकी युवतीको ज्यान

काठमाडौं ।

दक्षिणी क्यालिफोर्नियाको दुर्गम हिमाली क्षेत्रमा यस वर्षको सुरुमा पदयात्रा गर्ने क्रममा छाँगामा खसेकी एउटी स्काउट युवतीको केही घण्टामै उद्धार गरिएको छ। छाँगामा खस्दा खतरनाक हुन सक्नेगरी बेहोश भएको अवस्थामा उनलाई साधारण स्मार्टफोनबाटै ९११ मा सम्पर्क गर्न सकिने ‘डाइरेक्ट टु सेल’ स्याटेलाइट सेवाले जोगाएको हो।

सन् २०२२ को अन्त्यदेखि नयाँ आइफोन प्रयोगकर्ताले आपत्कालीन अवस्थामा पृथ्वीको तल्लो कक्षमा रहेका स्याटेलाइटमार्फत ९११ मा सन्देश पठाउन सक्ने सुविधा पाएका थिए। तर, ती फोनमा विशेष एन्टेना आवश्यक पर्थ्यो।

यस वर्ष मोबाइल सेवा प्रदायक टि–मोबाइलले स्पेसएक्सको स्टारलिंक स्याटेलाइटमार्फत चार वर्षभन्दा कम पुराना सबै फोनमा टेक्स्ट–टु–९११ सेवा सुरु गरेपछि यो सुविधा अझै धेरैलाई उपलब्ध भएको हो। फेब्रुअरीदेखि परीक्षणमा रहेको यो सेवा यो गृष्म ऋतुमा पूर्ण रूपमा सञ्चालनमा आएको हो।

यो स्याटेलाइट आपतकालीन सन्देश सेवा अब अमेरिकाभर लागू हुन लागेको नेक्स्ट जेनेरेसन ९११ (एनजी९११) प्रणालीमा समावेश गरिएको छ। यसले संकटमा परेकाले फोन गर्न नसक्दा पनि सन्देशमार्फत सहयोग माग्न सक्ने सुविधा दिन्छ।

नेब्रास्कामा आधारित सार्वजनिक सुरक्षा सञ्चार प्रदायक इन्ट्राडोले स्याटेलाइट नेटवर्कलाई एनजी९११ प्रणालीमा जोड्ने पूर्वाधार विकास गरेको हो। इन्ट्राडोको इमर्जेन्सी कल रिलेसन्टरले यही जुन २२ मा बिग सुर नजिकै रहेको लस पाड्रेस नेसनल फरेस्टमा ३,६९४ फिट उचाइको पिको ब्लाङ्को पर्वतमा हिँड्ने क्रममा एक किशोरी खसेपछि उनका नेतृहरूले पठाएको ९११ सन्देश सम्हालेको थियो।

टोली नेता र सात जना किशोरी साहसिक रात बिताउन गएका थिए। तर, तीमध्ये एक किशोरी बेहोस हुने गरी खस्दा यात्रा दुर्घटनामा परिणत भयो। नयाँ आपतकालीन सन्देश सेवाले उनीहरूको ज्यान जोगाएको हो।

स्पेस डटकमका अनुसार इन्ट्राडोका प्रविधि उपाध्यक्ष जोन स्न्यापका अनुसार, पहिले यस्तो अवस्थामा अरूलाई पठाएर सिग्नल हुने ठाउँ खोज्नुपर्ने र त्यसपछि उद्धार टोलीलाई फर्काएर ल्याउनुपर्ने हुन्थ्यो। तर, दुर्गम भूपरिवेशका कारण त्यस्तो काम निकै चुनौतीपूर्ण हुन्थ्यो।

उद्धार संयोजन गर्ने इन्ट्राडो इमर्जेन्सी कल सेन्टरका म्यानेजर जेसन डाभिसका अनुसार, यसपटक स्याटेलाइट प्रविधिले उद्धारलाई सजिलो बनायो। “स्याटेलाइट प्रविधि बिना उद्धारलाई घण्टादेखि दिनसम्म समय लाग्न सक्थ्यो,” उनले भने।

स्याटेलाइटमार्फत थपिएको कभरेजले पीडितको ठ्याक्कै स्थान तुरुन्तै पत्ता लगाउन सम्भव बनायो र उद्धार टोलीसँग समन्वय गरेपछि केही मिनेटमै पहिलो हेलिकप्टर खसिएकी किशोरीलाई लिन पठाइयो। करिब एक घण्टापछि अर्को हेलिकप्टरले बाँकी समूहलाई सुरक्षित स्थानमा ल्यायो।

स्न्यापका अनुसार अमेरिकाको करिब ८० प्रतिशत क्षेत्रमा मात्रै सामान्य मोबाइल सेवा उपलब्ध छ। लस पाड्रेस नेसनल फरेस्ट बाँकी २० प्रतिशत भूभागमध्ये हो, जहाँ यसअघि पूर्ण रूपमा सिग्नल आउँदैनथ्यो।

स्टारलिंकले विश्वका दुर्गम स्थानमा इन्टरनेट उपलब्ध गराउने उद्देश्य राखेर सेवा सुरु गरेको हो। हाल कक्षमा रहेका करिब ८,००० स्याटेलाइटमध्ये ५०० भन्दा बढीले डाइरेक्ट–टु–सेल सन्देश सेवा उपलब्ध गराइरहेका छन्। अरू स्याटेलाइट प्रदायकहरूले पनि यस्तै सेवामा काम गरिरहेका छन्।

“अब यी सेवाहरू फोनमै सहज रूपमा चल्छन्। स्याटेलाइट भनेको आकाशमै रहेको अर्को टावरजस्तै हो,” स्न्यापले भने। उनका अनुसार यो प्रविधि साहसिक यात्रु र अन्तर्राष्ट्रिय समुद्रमा जहाज चलाउनेहरूका लागि निकै उपयोगी हुनेछ।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार