Technology Khabar १ आश्विन २०८२, बुधबार
काठमाडौं ।
नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल टेलिकमले संविधान दिवस अफर २०८२ सार्वजनिक गरेको छ।
नेपाल सरकारले २०८२ असोज ३ गते विशेष रुपमा मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएको छ।
कम्पनीकाअनुसार, सो अफर २०८२ असोज २ गतेदेखि असोज ४ गतेसम्म लागु हुनेछ।
यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने बताईएको छ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ।
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने नेपाल टेलिकमले उल्लेख गरेको छ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डाटा प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत उपलब्ध छ।
आगामी असोज २ गतेदेखि असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# (*1415*11#) डायल गरेर वा “नेपाल टेलिकम एप” प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिने प्रवक्ता रबिन्द्र मानन्धरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: १ आश्विन २०८२, बुधबार