विज्ञान दिवस सन्दर्भ : विज्ञान, प्रविधि र हाम्रो गन्तव्य

Technology Khabar १ आश्विन २०८२, बुधबार

विज्ञान दिवस सन्दर्भ : विज्ञान, प्रविधि र हाम्रो गन्तव्य

काठमाडौं ।

-कृष्ण अधिकारी

आज राष्ट्रिय विज्ञान दिवस, यस दिनलाई राष्ट्रिय महत्वका साथ मनाउने प्रचलन नहुँदा धेरैलाई जानकारी नहुन सक्छ। हाम्रो जस्तो देशका लागि यो दिवसको सान्दर्भिकता निकै नै रहेको छ। यस वर्ष १३ औँ विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि’ भन्ने रहेको छ।

यस नाराले पनि विकास र उत्पादनलाई महत्व दिएको छ। यसका लागि नीति निर्मातादेखि तल्लो तहका जनतासम्म विज्ञान र प्रविधिमा सक्रिय सहभागिता सुनिश्चित गरी सबै वर्ग, समुदाय, पेसागत क्षेत्रमा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान गराउन प्रेरित गरेको छ।

हरेक देशको समुन्नति र विकासमा विज्ञान र प्रविधिको महत्वपूर्ण स्थान हुन्छ। विज्ञान र प्रविधिले मानव जीवनलाई दिएको योगदानको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई वैज्ञानिक सोच, अनुसन्धान र नवप्रवर्तनप्रति प्रेरित गर्ने अवसर प्रदान गर्ने हुँदा अनुसन्धान र आविष्कारप्रति अभिरुची बढाउने विशेष दिनको रुपमा लिनुपर्ने हुन्छ।

आजको विश्वव्यापीकरणको समयमा अन्तर्राष्ट्रियस्तरमा विज्ञान दिवसले विभिन्न देशबीच अनुसन्धान, आविष्कार र प्रविधि हस्तान्तरणमा सहकार्य बढाउने अवसरको रुपमा पनि लिन सकिन्छ। विज्ञान दिवस केवल स्मरणको दिन मात्र नभई समाजलाई आधुनिक, वैज्ञानिक र दिगो विकासको बाटोतर्फ अग्रसर गराउने प्रेरणादायी दिन हो भन्ने तथ्यलाई सबैले मनन् गर्न आवश्यक छ।

विज्ञान र प्रविधिको उचित प्रयोगले नै राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट प्रेरित भई विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महत्व नागरिकस्तरसम्म बुझाउनु आजको आवश्यकता हो।

विज्ञान र प्रविधि आर्थिक विकास, स्वास्थ्य सेवा, सञ्चार, यातायात, ऊर्जा, कृषि, वातावरण संरक्षणलगायतका क्षेत्रमा आधारस्तम्भ भएकाले राज्यले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। आज विश्वका जति पनि विकसित मुलुकहरु छन् तिनको समृद्धिको आधार भनेकै विज्ञान र प्रविधिमा उनीहरुले गरेको विकास नै हो।

आज विश्वले नै वातावरणीय सङ्कट, जलवायु परिवर्तन, ऊर्जा सङ्कट र दिगो विकासजस्ता चुनौतीहरुसँग जुध्नु परेको छ। यी समस्याहरुको समाधान कुनै एक देशको प्रयासले मात्र सम्भव नहुने हुँदा विश्व समुदाय वैज्ञानिक उपायको खोजीमा लाग्न ढिला गर्नु हुँदैन।

विज्ञान प्रविधिमा लगानी कुल गार्हस्थ उत्पादनको ०.३५ प्रतिशत मात्रै छ। सन् २०२५ मा नवप्रवर्तनको क्षेत्रमा नेपाल १०७ औं स्थानमा रहेको छ। दक्षिण एशियामा विज्ञान प्रविधिमा नेपाल निकै पछि छ। यसले हाम्रो अवस्थालाई चित्रण गर्दछ।

नेपाली समाजमा अझै पनि चेतनाको कमी, अन्धविश्वास, कुसंस्कार र परम्परागत गलत धारणा कायमै रहेको छ। त्यस्ता गलत सोचलाई हटाएर वैज्ञानिक सोच र प्रमाणमा आधारित जीवनशैली अंगिकार गर्न सक्षम बनाउन आवश्यक छ।

कुनै पनि देशको सामाजिक रूपान्तरण र आर्थिक विकासको प्रमुख कडी विज्ञान र प्रविधिलाई मानिन्छ। विज्ञान र प्रविधिलाई विस्तृत रुपमा नहेरी हाम्रो अवस्था र सन्दर्भसँग जोडेर हेर्नुपर्ने हुन्छ। हाम्रा अति नै मौलिक प्रविधिलाई संरक्षण गर्दै समयानुसार स्तरोन्नति गर्दै लैजानु आवश्यक छ।

ठूला अनुसन्धान र विकास हामीले गर्न नसके पनि हाम्रै अनुभव, वास्तविकता र आवश्यकतासँग जोडेर हेर्ने हो भने यसले मुलुकको विकास र उत्पादनमा ठूलो परिवर्तन दिन सकिन्छ। देशका विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगले रोजगारी सिर्जना, उत्पादन र आर्थिक क्रियाकलाप बढाउन सकिन्छ।

संविधान कार्यान्वयनमा विज्ञान र प्रविधि

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै जारी भएको संविधान कार्यान्वयन भएको पनि १० वर्ष पुग्दैछ। यस संविधानले नयाँ शासन प्रणालीका मूलभूत सिद्धान्तहरुलाई अंगीकार गर्नुको साथै नेपाली जनताको जीवनस्तर माथि उठाउने गरी विभिन्न संरचनाको निर्माण, नीतिगत व्यवस्था र थुप्रै आधारहरु निर्माण गरेको छ।

नेपालको संविधान २०७२ मा विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। संविधानको धारा ५१ (राज्यका नीतिहरू) अन्तर्गत वैज्ञानिक अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उल्लेख छ। शिक्षा, स्वास्थ्य, सूचना, संचार र उद्योग क्षेत्रको विकासमा विज्ञान प्रविधि प्रयोग गर्ने प्रावधान संविधानले स्पष्ट रूपमा गरेको छ।

नागरिकलाई सूचना तथा सञ्चार प्रविधिको पहुँच सुनिश्चित गर्ने लक्ष्य संविधानमा राखिएको छ। संविधानले दिएको अधिकार, कर्तव्य र दायित्वलाई व्यवहारमा उतार्न प्रविधिले सहज र पारदर्शी वातावरण सिर्जना गर्छ। यसरी संविधानले नागरिकलाई आधारभूत अधिकार दिएको छ भने विज्ञान तथा प्रविधिले ती अधिकारलाई कार्यान्वयन गर्ने आधार तयार गरेको छ।

संविधान कार्यान्वयनमा विज्ञान तथा प्रविधिको भूमिका महत्वपूर्ण रहेको छ। संविधानका मौलिक हकहरुको कार्यान्वयनमा विज्ञान तथा प्रविधि महत्वपूर्ण औजारको रुपमा रहेको छ।

शिक्षा, स्वास्थ्य, सूचनाजस्ता आधारभूत विषयहरुमा मात्र होइन नागरिकका आर्थिक अधिकारदेखि सुशासन, विकास प्रक्रियाहरुमा सहभागिताका लागि पनि विज्ञान प्रविधिको पहुँच विस्तार हुन आवश्यक हुन्छ। सरकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउँदा नागरिकले विस्तारै पहुँच पाउन थालेका छन्।

यसले सेवा प्रवाहमा सहजता आउनुको साथै समयको वचत, अनावश्यक खर्चमा कमी, भ्रष्टाचार, अनियमिततामा केही कमी आएको छ। सार्वजनिक सूचना प्रणाली क्रमशः छिटोछरितो र पारदर्शी भएको छ। स्थानीय सरकारदेखि संघीय तहसम्म सेवा प्रवाहलाई मोबाइल एप्समार्फत सजिलो बनाइँदै लगिएको छ। डिजिटल वित्तीय प्रणालीबाट बजेट विनियोजन, कर सङ्कलन र खर्च अनुगमन प्रविधिमार्फत सम्भव भएका छन्।

नागरिकता, सम्पत्ति, सामाजिक सुरक्षा, मतदानलगायत प्रणालीहरु ‘डिजिटलाइज’ भएका छन्। नागरिक सुझाव, गुनासो र सिफारिसहरू अनलाइनबाटै सम्बोधन गर्न सकिने भएकाले सुशासनमा बल पुगेको छ।

अनलाइन शिक्षा, डिजिटल पुस्तकालय, ई–लर्निङ प्लेटफर्ममार्फत नागरिकले आफ्नो शैक्षिक अधिकार उपयोग गर्न सक्छन्। टेलिमेडिसिन, ई–हेल्थ र आधुनिक प्रविधिबाट दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन सकिन्छ। ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन टेलिमेडिसिन र स्वास्थ्य सूचना प्रणालीको विस्तार भइरहेको छ।

ई–गभर्नेन्स, सरकारी पोर्टल, डिजिटल अभिलेखले पारदर्शिता र जवाफदेहिता बढाउँछ। पछिल्लो समय ई–शासन प्रणाली, नागरिक एपजस्ता डिजिटल प्लेटफर्महरुले विकास प्रक्रिया, सुशासनमा नागरिक सहभागिता बढेर गएको छ। यसै आधारमा सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गरी डिजिटल नेपालको अभियान अगाडि बढाइरहेको छ। प्रविधि–आधारित उद्योग, स्टार्टअप, फिनटेकले रोजगारी र उद्यमशीलता बढाउने काममा पनि विज्ञान प्रविधिको भूमिका रहेको छ।

विज्ञान प्रविधिकै विकासका कारण निर्वाचनमा विद्युतीय मतदान (ई–भोटिङ)को अभ्यास सुरु भएको छ। ई–भोटिङको माध्यमबाट सुरक्षित डिजिटल मतदान प्रणाली लागू गर्दा मतदान अधिकारलाई अझै सहज र पारदर्शी बनाउन सकिन्छ।

यसलाई केही सदसम्म अभ्यासमा ल्याइसकिएको पनि छ। आगामी दिनमा पनि यसलाई अझ प्रभावकारी रुपमा विस्तार गरी निर्वाचनलाई कम खर्चिलो, विश्वासिलो र अधिकतम् मतदाताको सहभागिता गराउन सकिन्छ। बायोमेट्रिक प्रणालीबाट मतदाता परिचय सुनिश्चित गर्न सम्भव भएको छ।

विज्ञान प्रविधिमा आएको अर्को महत्वपूर्ण फड्को भनेको सामाजिक सञ्जालको विकास हो। अभिव्यक्ति स्वतन्त्रता र नागरिक आवाज उठाउन सशक्त साधनको रुपमा सोसल मिडिया निकै सशक्त देखिएको छः। इन्टरनेटको विकाससँगै परम्परागत मिडियालाई आज सामाजिक सञ्जालले पछाडि धकेलेको मात्र होइन, सबै पुस्ताका मानिसहरुको जीवनशैलीलाई नै नजिक बनाएको छ।

सामाजिक सञ्जाल अधिकांश मानिससँग कति नजिक रहेछ भन्ने तथ्य अघिल्लो सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ताको आक्रोशले मुलुकमा यति ठूलो परिवर्तन ल्याउन सफल भएको छ। सूचना प्रविधिको विकासले नै अन्तराष्ट्रिय जगतमा मुलुकको अवस्थालाई चित्रण गर्दछ।

चुनौती र सम्भावना

मुलुकमा पटकपटक राजनीतिक परिवर्तनहरु भए पनि सरकारहरुको ध्यान अनुसन्धानमा आधारित र विकासतर्फ जान नसक्दा मुलुक धेरै पछाडि पर्न गएको हो। २०४६ सालमा हामीसँगै प्रजातन्त्र स्थापना भएका मुलुकहरुले यसबीचमा ठूलो फड्को मार्न सकेका उदाहरणहरु छन्।

युवा र विद्यार्थीलाई अनुसन्धान, प्रयोग र आविष्कारतर्फ आकर्षित गरेर भविष्यमा वैज्ञानिक नेतृत्व तयार गर्ने अवसर प्रदान गर्न नसक्दा युवा जनशक्ति विदेश पलायन हुनुपर्ने वाध्यता रहेको छ। अझै पनि आम जनतासम्म सूचना प्रविधिको समान पहुँच नहुनु, पूर्वाधार अभाव, डिजिटल खाडल, साइबर सुरक्षाजस्ता समस्याहरुले विज्ञान प्रविधिका क्षेत्रमा फड्को मार्न सकिएको छैन।

र मुलुकको समृद्धि र जनताको जीवनस्तर माथि उठाउन महत्वपूर्ण औजारको रुपमा संविधानले विज्ञान र प्रविधिको विकासका लागि थुप्रै अवसरका ढोकाहरु खुल्ला गरेको भएपनि तिनको कार्यान्वयन सही रुपमा हुन नसक्दा ठूलो युवा जनशक्ति विदेश पलायन, वेरोजगारी समस्या तथा विकास र उत्पादनलाई वैज्ञानिकीकरण गर्न नसक्दा मुलुकले समृद्धिको सिंढी राम्ररी चढ्न सकिरहेको छैन।

यसो भन्दैमा केही भएन, केही गर्न सकिनन भनने पनि होइन, संविधानमा उल्लेखित लक्ष्यलाई प्रविधिमार्फत छिटो कार्यान्वयन गर्ने अवसर, युवालाई अनुसन्धान र नवप्रवर्तनमा संलग्न गराउने सम्भावना पनि हामीसँग छ।

एकातिर स्वदेशमै अवसर सिर्जना गरी युवा पलाउनलाई रोक्ने र अर्कोतिर विदेशमा पढेलेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तित्वलाई आकर्षित गरी नयाँ सोचका साथ राष्ट्र निर्माणमा सहभागी गराउन सकिएमा मुलुकलाई समृद्ध बनाउन समय लाग्दैन।

विज्ञान र प्रविधिलाई सदुपयोग गर्न सक्दा देशको औद्योगिक विकास हुन गई धेरैलाई रोजगार दिन सकिन्छ, युवा वर्गको उचित व्यवस्थापन हुन सक्छ र समुन्नत नेपाल बनाउने दिशामा अघि बढ्न सकिन्छ।

हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिन र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ। देशको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य कुरा हो।

समाज सूचना र सञ्चार प्रविधिसँगै तीव्र रूपमा अगाडि बढिरहेको छ र सर्वसाधारणको पहुँचमा पनि पुगिरहेको अवस्थामा विकासको अग्रपथमा लम्किन त्यति धेरै समस्या पनि छैन।

‘जेन जी’ लाई उद्यमशील बनाएर नेपालमै रोजगारी सिर्जना गर्नु पर्नेछ, जेन वाई र जेन एक्सको भूमिकाले वातावरण बनाउने काम गर्दै जेन अल्फालाई विज्ञान प्रविधितिर लैजानु आजको मुख्य चुनौती हो। विज्ञान र प्रविधिलाई राष्ट्रको समृद्धि, समानता र अधिकार कार्यान्वयनको मूल साधनका रूपमा लिएर अघि बढ्न सकेमा केही वर्षभित्र हामी साँच्चिकै विकासशील राष्ट्रहरुको सूचीमा अगाडि रहन सक्छौँ। –रासस

प्रकाशित: १ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया