Technology Khabar १ आश्विन २०८२, बुधबार
काठमाडौं ।
लोकसेवा आयोगले परीक्षाका क्रममा मोबाइलमार्फत् च्याटजीपीटी प्रयोग गर्ने, चिट लैजाने र आफ्ना ठाउँमा परीक्षा दिन अन्य व्यक्तिलाई पठाउने परीक्षार्थीको परीक्षा रद्द गरेको छ।
आयोगले हालै एक सूचना प्रकाशित गरी गत भदौ ४ र ६ गते आफ्ना मातहतका कार्यालयहरूबाट सञ्चालित प्राविधिक प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा देहायका उम्मेदवारहरूले अनियमित कार्य गरेकाले आयोगको निर्णयानुसार कारबाही गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
यसरी परीक्षा रद्द गरिनेमा जाजरकोट जिल्लाको छेडागाड स्थायी ठेगाना भएकी विपना रावत रहेकी छिन्।
उनले शौचालय जाँदा मोबाइल लिएर गई च्याटजीपीमा प्रश्नको उत्तर खोजेको पाइएकोले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ को उपदफा (१) (क) बमोजिम कसुर गरेको हुँदा सोही ऐनको दफा ४१ को उपदफा (२) (क) बमोजिम निजको उक्त विज्ञापनको सबै परीक्षा रद्द गरी आयोगबाट लिइने परीक्षामा आगामी २ वर्ष अवधिसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय भएको आयोगले जनाएको छ।
रावतले नेपाल प्रहरीको प्रावधिकतर्फको विधिविज्ञान समूहको जवान पदका लागि काठमाडौंबाट परीक्षा दिएकी थिइन्।
यसैगरी नेपाल प्रहरीको प्रावधिकतर्फको सञ्चार/इञ्जिनियरिङ समूहको जवान पदका लागि आयोगको सुर्खेत कार्यालयमा परीक्षा दिँदै गरेका धर्मराज चनारा तथा सुशिला शाहीको परीक्षा पनि रद्द गरेको छ।
यी दुवैले प्रवेश पत्रमा भएको फोटो परिवर्तना गरी आफ्नो ठाउँमा अन्य व्यक्तिलाई परीक्षा दिन पठाएका थिए। यी दुवैलाई आयोगको परीक्षाका लागि आगामी ३ वर्षसम्म अयोग्य हुने ठहर गरिएको छ।
यसैगरी आयोगको दिपायल कार्यालयमा नेपाल प्रहरीको प्रावधिकतर्फको सञ्चार/इञ्जिनियरिङ समूहको जवान पदका लागि परीक्षा दिइरहेका सुवित रानाले आफूसँग चिट लगेको पाइएको छ। उनलाई १ वर्षसम्म आयोगबाट लिइने कुनै पनि परीक्षामा सामेल हुन नपाउने गरी परीक्षा रद्द गरिएको छ।
प्रकाशित: १ आश्विन २०८२, बुधबार