Technology Khabar ३१ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आगलागी हुँदा सो भवनमा रहेको क्लाउड हिमालयको डाटा सेन्टरमा क्षति पुगेका कारण कनेक्टआईपीएसलगायतका सेवा सोमबारसम्म अवरुद्ध रहे।
उक्त डाटा सेन्टरमा भायानेट लगायत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को प्राइमरी सर्भर पनि रहेकोले सेवा अवरुद्ध भएको जनाइएको छ।
डाटा सेन्टर जलाइएपछि सेवा अवरुद्ध भएका नेपाल क्लियरिङ हाउस लिमिटेडका सेवाहरुमध्ये कर्पोरेट पे, फन्ड ट्रान्सफर, कनेक्ट आईपीएस, नेपालपे इन्स्ट्यान्टलगायत प्रभावित भएका हुन्।
मुख्य समस्यामा प्रयोगकर्ताले रकम ट्रान्सफर गर्दा प्राप्तकर्ताको खातामा नपुग्नु रहेको र केही समयपछि ती रकमहरू ट्रान्सफर गर्नेकै खातामा फिर्ता पठाइएको संस्थाले जनाएको छ। त्यहाँको सर्भर जलेपछि अन्य ठाउँबाट सर्भर सञ्चालन गरेपछि अहिले भने सुधार भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ।
यो घटनाले नेपालका डिजिटल सेवा प्रदायकहरूको पूर्वाधार कति संवेदनशील छन् भन्ने देखाएको छ। आन्दोलन, आगलागी वा अन्य आपतकालीन अवस्थाले वित्तीय प्रणालीमा तत्काल असर पार्न सक्छ भन्ने स्पष्ट भएको छ।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार