Technology Khabar ३० भाद्र २०८२, सोमबार
काठमाडौं ।
टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा आएको छ। यहाँका गाउँगाउँमा फोरजी सेवा सञ्चालन आएपछि धेरै सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन्।
मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले फोरजी सेवा सञ्चालनमा आएपछि सहयोग पुर्याएको बताए।
नेपाल टेलिकमले विसं २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको थियो। व्यवसायी दीपक थापाले फोरजी सेवा सञ्चालनमा आएपछि व्यवसाय गर्न सहयोग पुर्याएको बताए।
हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ।
चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले भने, “ हुम्ला जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमासमेत आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्न गाउपालिकाको अथक पहल र निरन्तर प्रयत्नले फेरजी टावर सञ्चालनमा आएको छ।स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य, सञ्चार तथा रोजगारीका नयाँ अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विश्वाससमेत लिएको छु।”
उनले फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन तथा सूचना आदानप्रदानको कामसमेत सहज हुने बताए।
चङ्खेली–३ को लामाकाँधमा राखिएको टावरले चङ्खेली गाउँपालिकाका केही बस्ती सर्केगाड र मुगुको सोरु गाउँपालिकाका केही बस्तीमासमेत सेवा पुर्याउने जनाइएको छ।
वडा नं ६ को मासीधारमा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीमा ‘फोरजी’ सेवा सञ्चालन हुने छ।
महतारा चौरमा निर्माणधीन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचारु हुनेछ।
जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन्। टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थाले पनि आफूलाई कार्यालयमा काम गर्नसमेत सहज हुने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीको भनाइ छ। उहाँका अनुसार यस अघि इन्टरनेट नहुँदा स्वास्थ्यसम्बन्धी डाटा भर्नसमेत मुस्किल भएको थियो।
गाउँमा फोरजीसम्मको सेवा पुर्याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला चङ्खेली गाउँपालिकाका अध्यक्ष शाहीले बताए।
फोरजी सेवा सुरु भएसँगै यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ।-रासस
प्रकाशित: ३० भाद्र २०८२, सोमबार