लुटिएको कम्प्युटर, प्रिन्टर, स्मार्ट कार्ड प्रिन्टरलगायतका सामान फिर्ता गरिदिन यातायात व्यवस्था विभागको आग्रह

  • Technology Khabar | २९ भाद्र २०८२, आईतवार
लुटिएको कम्प्युटर, प्रिन्टर, स्मार्ट कार्ड प्रिन्टरलगायतका सामान फिर्ता गरिदिन यातायात व्यवस्था विभागको आग्रह

काठमाडौं ।

गत भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबाट लुटिएका कम्प्युटर, प्रिन्टर, स्मार्ट कार्ड प्रिन्टरलगायतका सामान फिर्ता ल्याइदिन विभागले सम्बन्धित सबैसँग आग्रह गरेको छ।

विभागले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। प्रदर्शनका क्रममा विभागमा तोडफोड र आगजनीका घटना भएको र सोही क्रममा कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट कार्ड प्रिन्टर, सर्भरमा प्रयोग हुने हार्डडिस्कलगायत महत्त्वपूर्ण उपकरणहरू लुटपाट भएको विभागले जनाएको छ।

विभागका अनुसार लुटपाटका कारण सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड), विद्युतीय सवारी साधन दर्ता (eDLVRS) प्रणाली, इन्ग्राभिङ नम्बर प्लेट उत्पादन र वितरण कार्य अवरुद्ध भएको छ। यसले सर्वसाधारणलाई प्रदान गरिने सेवामा असर पुगेको विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यातायात व्यवस्था विभागले लुटपाट भएका सामग्री कसैको घरमा वा अन्यत्र देखिएमा तत्काल जानकारी गराउन नागरिकलाई आग्रह गरेको छ। यस सम्बन्धमा विभागको सम्पत्ति संरक्षण अभियानलाई सहयोग गर्न अपील गरिएको छ।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...