जेन जी आन्दोलनका क्रममा थापाथली शोरुममा टाटाको ४ करोड हाराहारीको ८ ओटा गाडी ध्वस्त, क्षतिको पूर्ण विवरण आउन बाँकी

Technology Khabar २९ भाद्र २०८२, आईतवार

जेन जी आन्दोलनका क्रममा थापाथली शोरुममा टाटाको ४ करोड हाराहारीको ८ ओटा गाडी ध्वस्त, क्षतिको पूर्ण विवरण आउन बाँकी

काठमाडौं ।

अघिल्लो हप्ता भएको जेन जी आन्दोलनको दोस्रो दिनको प्रदर्शन तथा आगजनी र तोडफोडका घटनामा अटो क्षेत्रलाई पनि निक्कै क्षति पुगेको छ।

विभिन्न मन्त्रालय वा कार्यालयमा राखिएका र सडकमा जलाइएका बाहेक जेन जी प्रदर्शनका क्रममा थापाथलीमा रहेका विभिन्न कारका शोरुममा तोडफोड तथा आगजनीका घटना भएका थिए जसबाट त्यहाँ बिक्रीका लागि राखिएका कारहरुमा नराम्रो क्षति पुगेको पाइएको छ।

थापाथलीमा रहेका शोरुमहरुमा लगभग ३० ओटा बिक्रीका लागि राखिएका कारहरु जलाइएका प्रारम्भिक विवरण रहेको छ। थापाथलीमा रहेका टाटा, एक्सपेङ, स्मार्ट, हुन्डाई, महिन्द्रा र सुजुकीलगायतका शोरुममा रहेका कारहरु जलाइएको/ध्वस्त पारिएको हो।

सिप्रदी ट्रेडिङ अन्तर्गत टाटा शोरुम थापाथलीका प्रमुख सावन्त सिजापतिका अनुसार बिक्रीका लागि शोरुममा राखिएका लगभग ४ करोड रुपैयाँ हाराहारीका ८ ओटा गाडीहरु पूर्णरुपमा जलाएर ध्वस्त पारिएका छन्।

उनले भने, ‘लगभग ४ करोड रुपैयाँ हाराहारीका ८ ओटा गाडीहरु पूर्णरुपमा जलाइएका छन्। शोरुम पनि पूर्णरुपमा ध्वस्त भएको छ। बीमाका प्र।तिनिधि तथा इञ्जिनियरहरुको रोहवरमा शोरुमको क्षतिको विवरण आकलन हुँदैछ।’

उनका अनुसार देशभरी नेटवर्क फैलिएका कारण सबै ठाउँबाट आउनुपर्ने विवरण भने आइसकेको छैन। थापाथली शोरुममा जलाइएका ८ मध्ये पाँच ओटा विद्युतीय ईभी र बाँकी तीनओटा पेट्रोलबाट चल्ने गाडीहरु रह‍ेका छन्।

जलाइएका गाडीहरुको मूल्यबारे शोरुम प्रमुख सिजापतिले भने, ‘जलाइएका गाडीहरुमध्ये सबैभन्दा सस्तो ३० लाख रुपैयाँ र सबैभन्दा महँगो १ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरका थिए।’

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार