Technology Khabar २८ भाद्र २०८२, शनिबार
काठमाडौं ।
अमेरिकाको क्यालिफोर्निया राज्यले एआई नियमनतर्फ ठूलो कदम चालेको छ। नाबालक र संवेदनशील प्रयोगकर्तालाई सुरक्षित गर्न एआई कम्प्यानियन च्याटबोट नियमन गर्ने एसबी २४३ नामक विधेयक दुवै सदन—राज्य एसेम्ब्ली र सेनेट—बाट द्विदलीय समर्थनसहित पारित भई अहिले गभर्नर गेभिन न्युजमको टेबुलमा पुगेको छ।
न्युजमले अक्टोबर १२ भित्र यो विधेयकमा हस्ताक्षर गर्ने वा भिटो गर्ने निर्णय गर्नुपर्नेछ। हस्ताक्षर भएमा यो २०२६ जनवरी १ बाट लागू हुनेछ। यससँगै क्यालिफोर्निया एआई कम्प्यानियन च्याटबोट सञ्चालन गर्ने कम्पनीलाई सुरक्षा प्रोटोकल लागू गर्न र मापदण्ड नपुगे कानूनी जिम्मेवारी लिने पहिलो अमेरिकी राज्य बन्नेछ।
विधेयकले विशेष गरी प्रयोगकर्तासँग सामाजिक आवश्यकताअनुसार मान्छे-जस्तै जवाफ दिन सक्ने एआई प्रणाली (कम्प्यानियन च्याटबोट) लाई आत्महत्या, आत्महानी वा यौन सामग्रीसँग सम्बन्धित कुराकानी गर्न रोक लगाउने लक्ष्य राखेको छ।
यसअन्तर्गत नाबालक प्रयोगकर्ताका लागि हरेक तीन घण्टामा च्याटबोटसँग कुरा गरिरहेको र वास्तविक व्यक्तिसँग नभएको, साथै विश्राम लिनुपर्ने सन्देश दिनुपर्ने प्रावधान छ। साथै, एआई कम्पनीले हरेक वर्ष प्रतिवेदन र पारदर्शिता सम्बन्धी जानकारी सार्वजनिक गर्नुपर्नेछ, जुन २०२७ जुलाई १ देखि लागू हुनेछ। यसले ओपनएआई, क्यारेक्टर.एआई र रेप्लिकाजस्ता कम्पनीलाई समेत प्रभावित गर्नेछ।
विधेयकअनुसार एआई च्याटबोट कम्पनीले प्रावधान उल्लङ्घन गर्दा पीडितले मुद्दा दायर गर्न पाउनेछन्। अदालतले आदेश दिने, क्षतिपूर्ति (प्रति उल्लङ्घन अधिकतम १,००० डलरसम्म) र कानुनी खर्च माग्न सकिनेछ।
टेकक्रञ्चका अनुसार यो विधेयक गत जनवरीमा राज्य सिनेटर स्टीभ पदिला र जोश बेकरले प्रस्तुत गरेका थिए। यो विषयले गति तब पायो जब किशोर एदम रेइनले ओपनएआईको च्याटजीपीटीसँग लामो समयसम्म आत्महत्या र आत्महानीबारे कुराकानी गरेपछि आत्महत्या गरेका थिए।
साथै, लिक भएका आन्तरिक कागजातले मेटाको च्याटबोटले बालबालिकासँग “रोमान्टिक” र “संवेदनशील” कुराकानी गर्न दिएको देखाएपछि विधेयकलाई थप बल मिलेको हो।
हालैका हप्ताहरूमा अमेरिकी सांसद र नियामक निकायहरूले पनि एआई प्लेटफर्मले बालबालिकाको सुरक्षामा अपनाएका उपायबारे कडाइ बढाएका छन्।
संघीय व्यापार आयोग (एफटीसी) ले एआई च्याटबोटले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे अनुसन्धान गर्न तयारी गरिरहेको छ। टेक्सासका अटर्नी जनरल केन प्याक्सटनले मेटा र क्यारेक्टर डट एआईविरुद्ध भ्रामक दावी गरेको भन्दै छानबिन थालेका छन्। यसैबीच, सिनेटर जोश हाउली र एड मार्कीले पनि मेटामाथि छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन्।
प्रकाशित: २८ भाद्र २०८२, शनिबार