चिनियाँ कर्मचारी घर फर्के पनि फक्सकनको भारतस्थित गतिविधिमा ठूलो असर नपर्ने

Technology Khabar २८ भाद्र २०८२, शनिबार

चिनियाँ कर्मचारी घर फर्के पनि फक्सकनको भारतस्थित गतिविधिमा ठूलो असर नपर्ने

काठमाडौं ।

भारतले फक्सकनको भारतस्थित गतिविधिमा ठूलो असर नपर्ने जनाएको छ। पछिल्ला केही महिनामा कम्पनीले चीनका केही कर्मचारीलाई घर फर्कन आदेश दिए पनि सञ्चालनमा खासै बाधा नआएको भारतको सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनले यस हप्ता बताएका हुन्।

“केही चिनियाँ कामदार फर्कनु परे पनि सञ्चालनमा ठूलो समस्या परेन,” उनले ताइपेइमा पत्रकारहरूसँग भने। उनका अनुसार फक्सकनले चेन्नई नजिकको कारखाना पाँच वर्षदेखि सञ्चालन गरिरहेको छ र बेंगलुरु नजिकै नयाँ कारखाना निर्माण हुँदैछ। “त्यसैले त्यहाँका कामदार, ताइवानका केही कर्मचारी र अमेरिकाबाट आएका केही जनाले व्यवस्थापन गरेका छन्,” उनले भने।

ब्लूमबर्ग न्युजले जुलाईमा जनाएअनुसार फक्सकन, जसलाई औपचारिक रूपमा होन हाई प्रेसिजन इन्डस्ट्री भनिन्छ, ले सयौँ इन्जिनियर र प्रविधिकलाई चीन फर्काएको थियो।

फक्सकन र यसको ग्राहक एप्पलले चीनमा अमेरिकाले तोक्न सक्ने भनिएका उच्च शुल्कको असर कम गर्न भारतमा आईफोन उत्पादन विस्तार गर्ने लक्ष्य राखेका छन्। अहिले फक्सकनले एप्पलका लागि उत्पादन गर्ने अधिकांश आईफोन भने चीनमै एसेम्बल गरिने रोयटर्सले उल्लेख गरेको छ।

कृष्णनले चीनका कर्मचारीलाई किन फर्काइएको हो भन्ने प्रष्ट नभएको बताए। फक्सकनले यसबारे कुनै टिप्पणी गर्न मानेन भने एप्पलले पनि तत्काल प्रतिक्रिया दिएको छैन।

सन् २०२० मा हिमाली सीमा क्षेत्रमा भएको सैन्य झडपपछि भारत–चीनबीचको सम्बन्ध तन्किएको थियो। त्यसको प्रतिक्रिया स्वरूप भारतले चिनियाँ लगानीमा प्रतिबन्ध लगाएको, लोकप्रिय एपहरू प्रतिबन्धित गरेको र दुवै देशबीचको हवाई यात्रामा कटौती गरेको थियो।

तर पछिल्ला महिनामा सम्बन्ध क्रमशः सुधारोन्मुख छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि गत महिना चीन भ्रमण गरेका थिए र त्यहाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए।

“हाम्रो बुझाइमा फक्सकन भारतमा आफ्ना सबै लगानी पूरा गर्न प्रतिबद्ध छ … भारतमा उनीहरूको विस्तार निकै महत्वपूर्ण भएको छ,” कृष्णनले भने।

प्रकाशित: २८ भाद्र २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार