विश्वमै पहिलो पटक सामाजिक सञ्जाल प्लेटफर्म मार्फत नेपाली जेनजीले भोटिङ गरेर छाने प्रधानमन्त्री बनाउने व्यक्ति

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

विश्वमै पहिलो पटक सामाजिक सञ्जाल प्लेटफर्म मार्फत नेपाली जेनजीले भोटिङ गरेर छाने प्रधानमन्त्री बनाउने व्यक्ति

काठमाडौं ।

कुनै औपचारिक निर्वाचन बिना सामाजिक संजाल प्लेटफर्ममार्फत भोटिङ्ग गरेका व्यक्तिलाई नेपालमा पहिलो पटक प्रधानमन्त्री नियुक्त गर्न लागिएको छ। यस्तो छनोट वा घटना संभवत विश्व इतिहासमै पहिलो पटक भएको हो।

जेनजीले देशभर भ्रष्ट्राचारको विरुद्धमा गरेको आन्दोलनपछि नयाँ प्रधानमन्त्री बन्ने व्यक्तिको छनोट सामाजिक सञ्जाल डिस्कर्डमार्फत गरिएको थियो।

उक्त “डिस्कर्ड भोट” मा सबैभन्दा धेरै मत सुशिला कार्कीको लागि परेको थियो।

भदौ २५ गतेको डिस्कोर्डमा भएको भर्चुअल बैठक र खुला मतदानमा जम्मा ७,७१३ मत खसेकोमा सुशीला कार्कीले ३,८३३ मत (५० प्रतिशत) प्राप्त गरी सबैभन्दा अगाडि रहिन्।

दोस्रो स्थानमा २,०२२ मत (२६ प्रतिशत) सहित ‘र्यान्डम नेपाली’ विकल्प देखियो भने तेस्रोमा सागर ढकाल १,०९८ मत (१४ प्रतिशत) प्राप्त गर्दै रहे। हर्क साम्पाङले ६ प्रतिशत र महावीर पुनले ४ प्रतिशत मत पाए।

दिनभर करिब पाँच घण्टाभन्दा लामो छलफलपछि जेनजीहरूले अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीको नाम साझा रूपमा अघि सार्ने निर्णय गरेका थिए।

जेनजीले देशकै सबैभन्दा ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको सरकारलाई हटाएर नयाँ अन्तरिम सरकार गठन गर्ने अवस्थामा पुगेका छन्। यसका साथमा विश्वमै पहिलो पटक नेपालले डिस्कर्ड भोट मार्फत आफ्नो अन्तरिम प्रधानमन्त्रीको लागि चयन गरेको हो।

भ्रष्टाचार विरुद्ध २०८२ भदौ २२ गते जेनजीको विरोध प्रदर्शनमा सरकारले चर्को दमन गरेपछि भदौ २३ मा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए। उक्त प्रदर्शनको क्रममा हालसम्म ५१ जनाको मृत्यु भईसकेको छ।

त्यसपछि प्रदर्शनकारीहरूले डिस्कर्डलाई बैठक आयोजना गर्न र “डिस्कर्ड भोट” को लागि प्रयोग गरेका हुन्, उनीहरुले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा चयन गरेका हुन्।

सो चयन पछिनै उनलाई जेनजीले आफ्नो नेतृत्वको जिम्मा दिएका छन् र राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन छलफल चलिरहेको छ।

“डिस्कर्ड भोट” ले समुदायहरू माझ लोकप्रिय च्याट एप डिस्कर्डमा गरिएको सर्वेक्षणलाई जनाउँछ। नेपालको हालैको घटनामा, जेनजीका प्रदर्शनकारीहरूले सरकारलाई हटाएपछि अन्तरिम प्रधानमन्त्री उम्मेदवार (सुशीला कार्की) लाई मतदान गर्न दशौं हजार प्रयोगकर्ताहरू भएको डिस्कर्ड सर्भर प्रयोग गरेका थिए।

नेपाल बार एसोसिएसनका सचिव तथा डिजिटल स्वतन्त्रताको क्षेत्रमा सक्रिय अधिवक्ता बाबुराम अर्यालले क्रान्तिकारीहरुले यस्तो प्लेटफर्मको प्रयोग धेरै ठाउँमा प्रयोग गरेका जानकारी दिए। तर भोटिङनै गरेर छानिएको पहिलो भएको बताए।

उनले भने, “अमेरिकाको राष्ट्रपतिको चुनावमै सामाजिक सञ्जालको प्रयोग मार्फत परिवर्तन गरिएको ताजा उदाहरण छ। कुन मोडालिटीमा प्रयोग गर्न भन्ने मात्र हो।”

तर सामाजिक सञ्जाल प्लेटफर्ममै भोट गरेर छान्ने तरिका भने पहिलो र नयाँ भएको उनको बुझाई छ।

“छान्ने मोडलचैं रोमान्चक मोडल हो, तर सो मोडलले पुरै आम जनसमुदायको प्रतिनिधित्व गर्दैन र उनीहरुको पहुँचमा हुँदैन्।” उनले भने।

अधिवक्ता अर्यालले पब्लिक ओपिनियनको लागि यस्तो प्लेटफर्म बनाउन २०१० मा ई-गभर्नेन्स बिलमा सुझाब राखेको स्मरण गर्दै भने, “त्यसबेला पनि कानुन बन्नुभन्दा अगाडि पब्लिक ओपिनियन लिनका लागि यस्तो सुझाब दिईएको थियो।”

यस्तै, सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले सामाजिक सञ्जालको यस्तो प्रयोग हुनु सकारात्मक भएको बताए।

“यो सकारात्मक प्रयोग हो। सामाजिक सञ्जालको यस्तो प्रयोग प्रोडक्टिभ हो र इन्करेज गर्नुपर्ने हुन्छ,” उनले भने, “अन्य इन्स्टिच्यूसनले काम नगर्दा यो बढ्दा प्रजातान्त्रिक हुनसक्छ। सबैलाई भ्वाइस दिनु राम्रो हो।”

तर उनले सामाजिक सञ्जाल प्लेटफर्महरुको नकारात्मक प्रयोग हुनेतर्फ पनि सचेत हुनुपर्ने र सबैको ध्यान जानुपर्ने उल्लेख गरे।

के हो डिस्कर्ड ?

डिस्कर्डलाई गेमिङ्गको क्रममा च्याट गर्ने प्लेटफर्मको रुपमा धेरैजसो चिनिन्छ। शुरुवाती समयमा, साथीहरूसँग गेम खेल्दा कसरी कुरा गर्ने भन्ने उद्देश्यले डिस्कर्ड एउटा समस्या समाधान गर्न निर्माण गरिएको थियो।

सन् २०१२ मा जेसन सिट्रोनले खेल वरिपरि मानिसहरूलाई एकसाथ ल्याउन मद्दत गर्न फिनिक्स गिल्ड नामक नयाँ स्टुडियो स्थापना गरेका थिए। जेसनले चाँडै नै स्टुडियोको पहिलो परियोजना, फेट्स फोरएभर, मोबाइलको लागि विशेष रूपमा निर्मित मोबा (MOBA) मा काम सुरु गरेका थिए।

अर्को वर्ष स्टानिस्लाभ विस्नेभ्स्की जेसनसँग सामेल हुन्छन्, जतिबेला उनीहरू आफ्नो आगामी मोबाइल गेममा सँगै काम गरिरहेका थिए।

सन् २०१४को गर्मीमा जसलाई हालको ह्यामर एण्ड चिसेल भनेर चिनिने कम्पनी (जसलाई त्यसबेला फिनिक्स गिल्ड भनिन्थ्यो), ले फेट्स फोरएभरलाई आलोचनात्मक प्रशंसाको लागि लन्च गरेको थियो। खेलका केही सुविधाहरू, जस्तै बिल्ट-इन भ्वाइस च्याट, टेक्स्ट च्याट र फोरमहरूले अर्को के हुन्छ भनेर आधार तयार पार्न मद्दत गर्दछ।

मे २०१५ मात्रै उनीहरुले फेट्स फोरएभर निर्माणबाट सिकेको कुरालाई प्रयोग गर्दै, दुवैले नयाँ परियोजनाको पहिलो संस्करण जारी गर्छन्, जसलाई डेस्कटप र मोबाइलको लागि गेमिङ-केन्द्रित च्याट एप “डिस्कर्ड” तयार पारे, जुन अहिले नेपालमा चर्चामा रहेको छ।

डिस्कर्ड एक सञ्चार प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई पाठ, आवाज र भिडियो मार्फत अन्तर्क्रिया गर्न अनुमति दिन्छ। प्रयोगकर्ताहरू सामेल हुन वा आफ्नै समुदायहरू सिर्जना गर्न सक्छन्, जुन विभिन्न विषयहरू, रुचिहरू, वा गेमिङ समूहहरू वरिपरि व्यवस्थित गर्न सकिन्छ।

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार