ऋणसम्बन्धी ठूलो डाटाबेसमा ह्याकरहरूले गरेको आक्रमणबारे मूल्याङ्कन गर्दै भियतनामी साइबर सुरक्षा निकाय

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

ऋणसम्बन्धी ठूलो डाटाबेसमा ह्याकरहरूले गरेको आक्रमणबारे मूल्याङ्कन गर्दै भियतनामी साइबर सुरक्षा निकाय

काठमाडौं ।

भियतनाममा ऋणीसम्बन्धी विवरण रहेको ठूलो डाटाबेसमा ह्याकरहरूले आक्रमण गरेको र त्यसबाट कस्तो प्रभाव परेको हो भन्ने मूल्यांकन भइरहेको भियतनामको साइबर सुरक्षा निकाय र रोयटर्सले देखेको एक कागजातमा उल्लेख गरिएको छ।

यो घटना भियतनामको राष्ट्रिय क्रेडिट सूचना केन्द्र (सीआईसी) सँग सम्बन्धित हो, जुन भियतनामको केन्द्रीय बैंक अन्तर्गत रहेको इकाइ हो। यसमा व्यक्तिगत विवरण, क्रेडिट भुक्तानी, जोखिम विश्लेषण र क्रेडिट कार्डसम्बन्धी संवेदनशील जानकारी संकलन हुने गरेको छ।

“प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत डाटा चोरी गर्ने उद्देश्यले अनधिकृत पहुँच भएको देखिएको छ। कति मात्रामा डाटा लिक भएको हो भन्ने मूल्यांकन भइरहेको छ,” भियतनामको साइबर सुरक्षा निकायले बिहीबार राति जारी गरेको वक्तव्यमा जनाएको छ।

सेप्टेम्बर ११ मितिको वित्तीय संस्थाहरूलाई पठाइएको पत्रमा सीआईसी ले यो घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। पत्रमा यो आक्रमण अन्तर्राष्ट्रिय ह्याकर समूह ‘शाइनी हण्टर्स’ ले गराएको शंका व्यक्त गरिएको छ। यस समूहले गुगल, माइक्रोसफ्ट र क्वान्टस जस्ता विश्वव्यापी कम्पनीलाई लक्ष्य गर्ने गरेको इतिहास रहेको पत्रमा उल्लेख छ।

“घटनाले सञ्चालनमा अवरोध वा क्षति पुर्‍याएको छैन। क्रेडिट सूचना सेवा प्रणाली पूर्ण रूपमा सञ्चालनमै छ,” पत्रमा भनिएको छ।

भियतनामको केन्द्रीय बैंकले यसबारेमा प्रतिक्रिया दिएको छैन। रोयटर्सले शाइनी हण्टर्ससँग सम्पर्क गर्न सकेन। अधिकारीहरूले कति खातामा असर परेको हो भन्ने खुलाएका छैनन्।

अमेरिकी लगानी बैंक जेपीमर्गनले शुक्रबार लगानीकर्तालाई पठाएको नोटमा यस घटनाले बैंकहरूको साइबर सुरक्षामा थप खर्च बढाउने र निक्षेप प्रवाहमा जोखिम बढ्न सक्ने सम्भावना औंल्याएको छ। तर, व्यापक असर वा थप घटना नभएसम्म भियतनामी बैंकहरूमा लगानी निरन्तर गर्न सिफारिस गरिएको छ।

सन् २०२४ को साइबर सुरक्षा प्रतिवेदनमा भियतनामको सेनाद्वारा सञ्चालित टेलिकम कम्पनी भियेट्टेलले देशमा डाटा चुहावट तीव्र रूपमा बढेको बताएको थियो। प्रतिवेदनअनुसार १ करोड ४५ लाख खाताको डाटा चुहावट भएको थियो, जसले विश्वव्यापी कुल संख्याको १२ प्रतिशत ओगटेको थियो।

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार