Technology Khabar २७ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार मात्रै अनलाइनमार्फत् १४१ ओटा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गरेको छ। मन्त्रालयको सानोठिमीस्थित शाखामार्फत विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई अनुमति पत्र दिइएको हो।
शाखा प्रमुख वासुदेव वस्तीका अनुसार सोही दिन १४१ ओटा एनओसी जारी गरिएको, ८ वटा पुराना एनओसी रद्द गरिएको र एउटा प्रोभिजनल एनओसी प्रदान गरिएको छ। उनले भने, “विद्यार्थीले विदेशमा पढ्न जानु अघि ठूलो खर्च बेहोर्नुपर्छ। एनओसी प्रक्रिया सहज बनाउन हामी निरन्तर प्रयासरत छौँ।”
त्यसैगरी, शाखाले ४६९ कागजात सत्यापन गरेको र २५८ वटा आवश्यक कागजात अभावका कारण एनओसी रद्द गरेको जनाएको छ।
मन्त्रालयका अनुसार बिहीबार बेलुकी ८ बजेसम्म अनलाइन प्रणालीमार्फत ११८ जनाले नयाँ आवेदन दिएका छन्। शाखाले विद्यार्थीलाई सहज बनाउन अनलाइन प्रणाली प्रयोग गर्दै आएको छ।
“आवश्यक परे अतिरिक्त समय थपेर पनि सेवा दिने तयारी छ। विद्यार्थीलाई असर नपर्ने गरी छिटो प्रक्रिया अघि बढाइरहेका छौँ। आवश्यक परे शनिबार पनि काम गर्न तयार छौँ,” वस्तीले जानकारी दिए।
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार