Technology Khabar २६ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
सर्वोच्च अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई प्रारम्भ हुने भएको छ। आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको लागि यो जानकारी गराइएको हो।
अदालतले आज एक विज्ञप्ति प्रकाशित गरी हालै भएको घटनाका क्रममा ज्यान गुमाएका नेपाली नागरिक प्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गर्दै उक्त घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२।०५।२४ गते सर्वोच्च अदालत लगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरुमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौ।‘
नागरिकहरुको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरुमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरुका महत्वपूर्ण दस्तावेजहरु, अदालतमा रहेका उपकरणहरु, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको र नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब करिब नष्ट हुन गएका अदालतले जानकारी गराएको छ।
‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक प्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।
घटनाका कारण आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक श्रोतसाधनको संरक्षणमा खट्ने न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, कानूनका विद्यार्थी, सुरक्षाकर्मी एवं सर्वसाधारण नागरिकहरु प्रति हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत सबैको निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ।
प्रकाशित: २६ भाद्र २०८२, बिहीबार