विद्युतीय टगबोट बनाउन आर्क बोट्सले पायो १६ करोड डलर बराबरको पहिलो अर्डर

Technology Khabar २६ भाद्र २०८२, बिहीबार

विद्युतीय टगबोट बनाउन आर्क बोट्सले पायो १६ करोड डलर बराबरको पहिलो अर्डर

काठमाडौं ।

आर्क बोट्सले १६ करोड डलर बराबरको पहिलो ठूलो अर्डर पाएको छ, जसअन्तर्गत कम्पनीले विद्युतीय टगबोट बनाउनेछ।

लस एन्जलसमा सन् २०२१ मा पूर्व स्पेसएक्स कर्मचारीहरूले स्थापना गरेको यो स्टार्टअप आफ्नो स्पोर्ट बोटका लागि चर्चित भए पनि अब कम आकर्षक देखिने टगबोट क्षेत्रमा पनि प्रवेश गरिरहेको छ।

कम्पनीले बुधबार टग र बार्ज अपरेटर कर्टिन म्यारिटाइमसँग १६० मिलियन डलरको सम्झौता गरेको घोषणा गरेको हो। सम्झौताअनुसार, आर्कले आठवटा हाइब्रिड-इलेक्ट्रिक टगबोट निर्माण गर्नेछ, जसको मूल्य प्रतिटग करिब २० मिलियन डलर पर्छ। यी टगबोट २०२७ देखि लस एन्जलस पोर्ट वरिपरि सञ्चालनमा आउनेछन्।

यी जहाज-सहायता टगबोट हुन्, जसले विशाल कार्गो जहाजहरूलाई बन्दरगाहमा भित्र्याउन वा बाहिर निकाल्न मद्दत गर्छन्। आर्कका सीईओ तथा सह-संस्थापक मिच लीका अनुसार, परम्परागत टगबोटहरू शक्तिशाली डिजेल इञ्जिनले चल्छन्, जसले वातावरणमा ठूलो मात्रामा कार्बन र सल्फर प्रदूषण फैलाउँछन्।

तर आर्कले डिजेल पावरप्लान्टलाई ब्याट्री र इलेक्ट्रिक मोटरले प्रतिस्थापन गरेर प्रदूषण कम गर्ने प्रयास गरेको छ। यसले वातावरणीय मापदण्ड पूरा गर्न सजिलो हुने र वायु गुणस्तर सुधारिने अपेक्षा गरिएको छ।

टेकक्रञ्चका अनुसार कर्टिनले अर्डर गरेका आठ टगबोट लस एन्जलस पोर्टमा सञ्चालनमा रहेका जम्मा करिब २० मध्ये हुने भएकाले प्रदूषणमा ठूलो कमी ल्याउने सम्भावना रहेको लीले बताए।

इलेक्ट्रिक प्रणालीले टगभित्रको ठाउँ पनि बचत गर्ने उनले बताए। ठूला धुवाँ निकाल्ने पाइप हटाउन सकिने भएकाले क्रुका लागि बस्ने कोठा बढाउन सकिने र नियन्त्रण टावर (व्हीलहाउस) बाट दृश्यता अझ राम्रो हुने उल्लेख गरिएको छ।

यी नयाँ टगहरूमा ६ मेगावाट-घण्टा क्षमताको ब्याट्री रहनेछ र मोटरहरूले ४,००० भन्दा बढी हर्सपावर उत्पादन गर्नेछन्। सानो डिजेल जेनेरेटर पनि रहनेछ, तर त्यो केवल लामो यात्रा वा चार्जिङ सुविधा नभएको अवस्थामा ब्याट्री चार्ज गर्न प्रयोग गरिनेछ।

लीका अनुसार टगहरूको छोटो र नियमित मिशन विद्युतीय प्रवाहका लागि उपयुक्त हुनेछन्। सरल डिजाइनका कारण मर्मत-सम्भारमा पनि कम खर्च हुने अपेक्षा गरिएको छ। इन्धनको खर्च घट्ने भएकाले यी टग अपरेटरका लागि आर्थिक रूपमा पनि फाइदाजनक हुने विश्वास कम्पनीको छ।

हालसम्म आर्कले सबै विद्युतीय स्पोर्ट बोट उत्पादन गर्दै आएको छ, तर कम्पनीको महत्वाकांक्षा सबै प्रकारका जलयात्रा साधनलाई विद्युतीय बनाउने रहेको छ। लीले भने, “हामीसँग यी जलयात्राका ट्र्याक्टरजस्ता टगलाई आधुनिक बनाउन ठूलो अवसर छ, र यो समुद्री अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो।”

प्रकाशित: २६ भाद्र २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार