Technology Khabar २५ भाद्र २०८२, बुधबार
काठमाडौं ।
नेदरल्याण्ड्सको उपभोक्ता अधिकार नियामक निकाय एसीएमले मंगलबार सामाजिक सञ्जाल स्न्यापच्याट विरुद्ध अनुसन्धान सुरू गरेको जनाएको छ। यो अनुसन्धानमा १८ वर्षमुनिका किशोर–किशोरीलाई अवैध रूपमा भेप बिक्री हुनसक्ने आशंकामा प्लेटफर्मले पर्याप्त सुरक्षा नदिएको विषय उठाइएको छ।
स्न्यापच्याटको मालिक कम्पनी स्न्याप इन्कले यसबारेमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
रोयटर्सका अनुसार एसीएमले स्न्यापच्याटले आफ्नो प्लेटफर्मलाई नाबालिगहरूलाई भ्याप बेच्न प्रयोग हुन नदिने पर्याप्त कदम नचालेको संकेत देखिएको बताएको छ। यसलाई युरोपेली संघको डिजिटल सर्भिसेस एक्ट (डीएसए) को उल्लङ्घन मानिन्छ, जसअनुसार स्न्यापच्याट जस्ता प्लेटफर्मले नाबालिग प्रयोगकर्तालाई पर्याप्त सुरक्षा दिनुपर्ने हुन्छ।
“नाबालिगका लागि सुरक्षित अनलाइन वातावरण अत्यन्त महत्त्वपूर्ण छ। प्लेटफर्महरूले अवैध सामग्री वा उत्पादनहरूको बिक्री रोक्न कदम चाल्नैपर्छ,” एसीएमले भनेको छ। “हामीले स्न्यापच्याटबाट सम्भावित डीएसए उल्लङ्घनका पर्याप्त संकेत देखेकाले अनुसन्धान सुरू गरेका छौँ।”
एसीएमले यस अनुसन्धानमा युरोपियन आयोगसँग मिलेर काम गरिरहेको जनाएको छ। तर यसबारे थप जानकारी वा समयसीमा खुलाउन अस्वीकार गरेको छ।
प्रकाशित: २५ भाद्र २०८२, बुधबार