जेनजीको प्रदर्शनले गर्दा नेपालको व्याण्डविथ खपत उच्चस्तरमा, इन्टरनेट सेवा कुनैपनि बेला ठप्प हुनसक्ने चिन्ता

Technology Khabar २३ भाद्र २०८२, सोमबार

काठमाडौं ।

जेनजीको प्रदर्शनका बिच नेपालको इन्टरनेट सेवा कुनैपनि बेला ठप्प हुने अवस्थामा पुगेको छ।

आज बिहान जेनजीले काठमाडौंसहित देशका विभिन्न शहरहरुमा प्रदर्शन आयोजना गरेका छन्। उक्त प्रदर्शनमा कम्तिमा १८ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको बताईएको छ। यस्तै प्रदर्शन अझैपनि जारी छ।

यसबीचमा, इन्टरनेट सेवा प्रदायकहरुका अनुसार हाल नेपालमा भित्रिरहेको ब्याण्डविथ उच्चस्तरमा खपत भईरहेको छ। जसले गर्दा कुनैपनि बेला इन्टरनेट क्र्याश हुने अवस्था आएको छ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका अध्यक्ष सुधिर पराजुलीले हाल करिब करिब पूर्ण क्षमतामा व्याण्डविथ खपत भईरहेको जानकारी दिएका छन्।

“सामाजिक सञ्जाल खोल्ने भन्दा पनि इन्टरनेट नै डाउन हुने डर छ,” उनले भने, “ठूला सेवा प्रदायकहरुको क्षमता उच्चबिन्दूमा पुगेको छ।”

उनकाअनुसार अहिले अन्य दिनहरुमा माग हुने भन्दा करिब ४० प्रतिशत ब्याण्डविथ खपत अधिक भईरहेको छ।

“यो भन्दा धेरै इन्टरनेट व्याण्डविथ खपत भएमा सटडाउन हुनसक्छ,
उनले भने, “अहिलेनै नेपाली वेबसाइटहरु निकै सुस्त गतिमा चलिरहेका छन्।”

यसैगरी एक प्राविधिक विज्ञले हिजैदेखि ब्याण्डविथ खपत उच्च स्तरमा रहिरहेको र यस्तै भए समस्यामा पुग्ने बताए।

“दुई दिनदेखिनै ब्याण्डविथ उच्च स्तरमा छ, यस्तै अवस्था रह्यो भने थप बढ्ने देखिन्छ,” उनले भने।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया